लक्ष्मी लम्साल
पश्चिमा पात्रोअनुसार प्रेम दिवस अर्थात् भ्यालेन्टाइन डे फेब्रुअरी १४ तारिखमा पर्छ भने चिनियाँहरुको परम्परागत लुनार पात्रोअनुसार हरेक सातौं महिनाको सातौं दिनमा प्रेम दिवस मनाउने गरिन्छ। त्यसबमोजिम यस वर्ष अगस्ट २८ तारिखका दिन चिनियाँहरुको मौलिक प्रेम दिवस पर्दछ। चिनियाँहरुको ७।७ लोकप्रिय त छँदैछ तर फेब्रुअरी १४ मनाउन पनि छाड्दैनन्।
आर्थिक समृद्धिसँगै चिनियाँहरु खुलापनतर्फ अग्रसर छन्। चिनियाँहरु अन्तरदेशीय विवाहमा पनि रुचि राख्ने र आफ्नो जीवनशैली पनि पश्चिमाको जस्तो खुला होस् भन्ने चाहन्छन्। अन्तर्राष्ट्रिय प्रेमको माग बढ्न थालेपछि अचेल चीनमा अनलाइन डेटिङ र म्यारिज ब्यूरोहरु पनि फस्टाएका छन्। त्यसो त चीनमा लैङ्गिक हिसाबले पुरुषको संख्या धेरै छ। सन् २०२० सम्ममा ३ देखि ४ करोड पुरुषले केटी नपाएर कुमारै बस्नुपर्ने अनुमान गरिएको छ। यस्तो संकटापन्न अवस्थामा केही युवती विदेशीसँग बिहे गरेर हिँडेपछि चिन्ता त राज्यलाई लाग्दो हो तर वैयक्तिक रुपमा सबैलाई देखिँदैन।
चिनियाँ युवतीले विभिन्न देशका युवासँग घरजम गरेका छन्। तर उनीहरुको रोजाइमा एसियाली वा अफ्रिकीभन्दा युरोपेली वा अमेरिकी नै बढी रोजाइमा पर्दछन्। यी १० कारण हुन्-चिनियाँ महिलाले विदेशी भ्यालेन्टाइन खोज्ने।
कारण १- नेपाली युवतीहरु विशेष गरी विदेशीसँग विवाह गर्दा धनदौलत, ग्रीनकार्ड र सुखी जीवनको परिकल्पना गर्दछन्। चिनियाँ महिलाका विचारमा पनि पश्चिमा वा गोरे पुरुषहरु धनी हुन्छन्। त्यसकारण उनीहरुसँग विवाह गर्नुको अर्थ धनी हुनु हो। चीन विकासोन्मुख मुलुक भएकाले चिनियाँ महिलाको आँखामा वैदेशिक विवाह लक्ष्मीदेवीसँगको सान्निध्यता हो। केही चिनियाँ महिलाहरु विदेशमै गएर विदेशीलाई पट्याउँछन् भने विदेश जाने जाँचोपाँजो नमिलेकाहरु हङ्कङ्, मकाउ वा ताईवान र मुख्यभूमिमा काम वा अध्ययनका सिलिसिलामा आएका विदेशी केटाहरु पट्याउँछन्।
कारण २- विदेशीसँगको विवाहले सामाजिक प्रतिष्ठामा बढोत्तरी हुने धारणा चिनियाँ महिलामा हुन्छ। केही चिनियाँ युवतीले विदेशीलाई घुमाउने क्रममा अङ्ग्रेजी बोलेको देखेमा अरुहरु पनि छक्क पर्छन् र दोहोर्याई दोहोर्याई नियाल्दछन्। यसबाट चिनियाँ समाजले विदेशी जीवनसाथी हुनुलाई प्रतिष्ठा वा शानको रुपमा पनि हेर्छ। खुलापनसँगै विदेशी लगानीकर्ताहरु चीनमा भित्रिने क्रम बढेको छ भने यसबाट हेलमेलमा पनि स्वतःबढोत्तरी हुने नै भयो।
कारण ३- व्यक्तिगत चरित्र पनि हो कि कतिपय चिनियाँ युवतीका मनमा अरुको भन्दा फरक हैसियत, इज्जत भएको दम्भ हुन्छ। उनीहरु आफ्नो यही अहंकार देखाउनका लागि पनि विदेशीसँग छोटै सही, बिहेको प्रमाणपत्र देखाउने कुण्ठाले भरिएका हुन्छन्। त्यसमा पश्चिमा पुरुषहरु पहिलो प्राथमिकतामा पर्छन्।
कारण ४- विकसित मुलुकमा सुखी जीवन बिताउने सपना चिनियाँ महिलाको पनि हुन्छ। विवाह एउटा सजिलो माध्यम हो जसले क्षणभरमै कसैको जीवनमा कायापलट गरिदिन सक्छ। धेरै चिनियाँ महिलाहरुलाई विदेश जान इच्छा छ तर बाटाहरु यथेष्ट सजिला छैनन्। त्यसैले वैवाहिक बन्धन नै अवसरको सजिलो हतियार हुने भएकाले चिनियाँ महिला विदेशीप्रति लालायित हुन्छन्।
कारण ५- अपेक्षाकृत विदेशीहरु अर्काको देशमा गएपछि भद्रभलाद्मी देखिने गर्छन् नै। नजिकको तीर्थ हेला भनेजस्तै मानिसले आफू र वरिपरिका कुराहरुको महत्व कम देख्ने गर्छ। चिनियाँ भूमिमा आएका केही विद्यार्थी, लगानीकर्ताहरुको शिष्टता र स्मार्ट लुक्सले सारा विदेशी उस्तै हुन्छन् भन्ने धारणा चिनियाँ महिलामा पलाएको छ। त्यसैले सबै विदेशीलाई एकै नजरले हेर्ने भएकाले चिनियाँ महिलाहरु विदेशी भ्यालेन्टाइन शिष्ट, भद्र भलाद्मी हुने धारणा राख्दछन्।
कारण ६- जिन्दगीको पुनर्ताजगीका साथ कौतुहलता मेटाउन विदेशी भ्यालेन्टाइनको खोजी एक अर्को कारण हो। चिनियाँ महिला यसअघि नै घरेलु पुरुषसँग अभ्यस्त भैसकेका हुन्छन्। भोगेर, देखेर, सुनेर वा अन्य कारणवश स्वदेशी पुरुषसँगको जीवनशैली पट्यारलाग्दो हुने निष्कर्षमा पुग्छन्। विदेशी पुरुषसँगको जीवन केही नयाँपनले भरिने उनीहरुको आशा हुन्छ।
कारण ७- विदेशीसँगको हेलमेलले पनि आकर्षित गर्दछ। अध्ययनका सिलसिलामा विदेशमा गएका चिनियाँ महिला होउन् वा चीनभित्रै पनि स्थापित विदेशी कम्पनीहरुमा काम गर्ने वा अङ्ग्रेजी राम्रो भएका महिलाहरुको विदेशीसँग उठबस हुन्छ। विदेशीसँग सम्पर्क भइराख्ने चिनियाँ महिलाहरु विदेशीसँगै जीवनयात्रा गर्ने सपना देख्न सक्छन्। किनकि चिनियाँहरुका लागि मिल्नसक्ने सँस्कृति पश्चिमा जगतमा पनि छ।
कारण ८- विदेशीको दैनिकी तथा संस्कृतिप्रतिको आकर्षणमा नयाँपन छ। फरक खालको जीवनशैली, विदेशीहरुको आनीबानी र चालचलनप्रति चिनियाँ महिला आकर्षित हुन्छन्। केही चिनियाँ महिलाहरु बच्चैदेखि विदेशी चालढालप्रति आकर्षित हुँदै गैरहेका हुन्छन् र भविष्यमा विदेशीसँगै जीवनयापन गर्ने मनोकांक्षा अंकुरित गर्छन्।
कारण ९- लैङ्गिक समानताबारेको चिनियाँ महिलाको दृष्टिकोण एउटा कारण हो। उनीहरु सोच्दछन् कि विदेशमा महिलालाई धेरै हकअधिकार र स्वतन्त्रता छ। चिनियाँ कानुनले धेरै अधिकार दिएपनि पितृसत्तात्मक भएकाले चिनियाँ समाजमा पुरुषहरु आफूलाई श्रेष्ठ ठान्छन्। उनीहरुका विचारमा विदेशमा महिलालाई पुरुषको जस्तो मनमौजीको स्वतन्त्रता हुन्छ।
कारण १०- विदितै भएको कुरा हो कि पश्चिमाहरु यौन मामिलामा स्वच्छन्द हुन्छन्। अङ्ग्रेजी जान्ने र आफूलाई आधुनिक ठान्ने चिनियाँ महिलाहरु पनि जीवनमा एक न एकचोटी विदेशीसँग नजिकिने सोच राख्छन्। सूचना प्रविधिको व्यापकताले पनि चिनियाँहरुले पश्चिमाहको प्रेमिल गतिविधि नियालेका छन्। फिल्ममा देखेको जस्तो शानदार र अद्वितीय जीवन कल्पिने चिनियाँ महिलाहरु पश्चिमा पुरुषलाई जीवनको भ्यालेन्टाइन चाहन्छन्। खुल्दै गरेको चिनियाँ समाजलाई पश्चिमाहरुको खुल्ला जीवनले आकर्षित गर्दै गएको छ।
चिनियाँ महिलाहरुको विचारमा विदेशी(विवाह भन्ने बित्तिकै चीनजस्तै विकासोन्मुख, आर्थिक हिसावले गरीब मुलुक, द्वन्दग्रस्त मुलुक नभएर गोरेहरु बस्ने मुलुक नै हो। उनीहरु अधिकांशका विचारमा हरेक गोराहरु युरोपेली वा अमेरिकन् हुन्। उनीहरु उत्तिकै धनी हुन्छन्, उत्तिकै शिष्ट हुन्छन् र ती देशहरु पनि महिला स्वतन्त्रता र सुरक्षाका लागि स्वर्ग हुन्छन्। पश्चिमाहरु आफ्नो देशको पट्यारलाग्दो जीवनशैलीबाट तर्किनका लागि एशियातिर रमाउन खोजिरहेका छन् भने चिनियाँ महिला पनि विदेशी जीवनसाथीका लागि आकर्षित देखिन्छन्। सन् १९७३ मा चीनले जनसंख्या वृद्धिका लागि १ करोड महिलाहरु दिने प्रस्ताव अमेरिका समक्ष राखेको थियो। तर अहिले अमेरिकी जीवनस्तरबाट चिनियाँ महिलाहरु आफ् से आफ् लोभिन थालेका छन्। नेपाल खबरबाट
