काठमाडौं, २८ माघ । हास्यव्यङ्ग्यकार देवीप्रसाद घिमिरेको हास्यव्यङ्ग्य निबन्ध सङ्ग्रह ‘थप्पड’ कमलपोखरीस्थित रुसी विज्ञान तथा सांस्कृतिक केन्द्रमा विमोचन गरियो । पूर्व सभामुख सुभासचन्द्र नेम्बाङ र राष्ट्रकवि माधव घिमिरेले संयुक्त रुपमा थप्पड हानिरहेको काठको प्रतीकात्मक हात देखाएर उक्त सङ्ग्रहको विमोचन गरेका हुन् ।

Thappadसिस्नुपानी नेपालले आयोजना गरेको हास्यव्यङ्ग्यात्मक कार्यक्रममा ‘थप्पड’को विमोचनपछि मन्तव्य व्यक्त गर्ने क्रममा नेम्बाङले ‘देवीप्रसाद घिमिरेका हास्यव्यङ्ग्य निबन्धले मनोरञ्जनका साथै ज्ञानगुनका खुराक पनि दिने’ बताए । उनले आफ्नोे दिमागमा दुई दिनदेखि एउटा कुरा घुमिरहेको भन्दै सुनाए, ‘नेपाली समाजमा एउटा भनाई छ प्रचलित छ, हरिविजोग ? के तादम्यता छ यसको ? बरु यसलाई प्रचण्डबिजोग भन्दा ठीक होलाजस्तो लाग्छ है मलाई त । किनकि प्रधानमन्त्री भएको यतिका समय बित्दा समेत प्रचण्डजीले केही गर्न सक्नुभएको छैन, उहाँको विजोक छ । त्यसैले हरिबिजोग भन्नुको साटो प्रचण्डबिजोग भन्नु पो उपयुक्त होला !’

उनको भनाइले दर्शकहरू हाँसे । लगत्तै उनले थपे, ‘त्यस्तै अर्को शब्द छ– रामधुलाई । यो रामधुलाई भन्दा पनि केपी धुलाई भन्नुचाहिँ ठीक होला । किनभने उहाँले सबैको धुलाई गर्नुहुन्छ ।’ फेरि हलभरि फेरि हाँसोको फोहोरा छुट्यो । उनी पनि मुसुमुसु हाँसे ।

कार्यक्रममा राष्ट्रकवि घिमिरेले मानव शरीरका सबै अङ्गहरूलाई मूल विषय बनाएर लेखिएका देवी घिमिरेका हास्यव्यङ्ग्य निबन्धहरूले नयाँ स्वाद दिने दावी गरे । उनले भने, ‘मेरो बन्धु देवी घिमिरेबाट योभन्दा नि गहन कृतिहरू आऊन् मेरो आशीर्वाद छ ।’

सिस्नुपानी नेपालका अध्यक्ष लक्ष्मण गाम्नाङ्गेको सभापतित्वमा सम्पन्न कार्यक्रममा हास्यव्यङ्ग्यकार घिमिरेका बारेमा डा. रामप्रसाद ज्ञवाली, डा. देवी नेपाल टङ्कप्रसाद आचार्य, वालकवि अनुज्ञा नेपाललगायतले प्रकाश पारेका थिए । भुँडीपुराण प्रकाशनले छापेको ‘थप्पड’भित्र ३३ वटा निबन्धहरू समाविष्ट छन् ।

thapppppभिन्न शैलीबाट विमोचन गरियो । मञ्चमा अतिथिको अगाडि राखिएको एउटा टेबुल थियो । टेबुलमा सिस्नुले केही छोपिएको थियो । त्यो सिस्नु पहिले अतिथि नेम्वाङ र घिमिरेले पल्ट्याए । अनि बडेमानको हातका काठद्वारा निर्मित पाँच औँलाहरु देखिए । जसमा पुस्तक ’थप्पड’को आवरण थियो । त्यही हातका आँैलाहरु ओल्ट्याइपल्ट्याइ गरेर पुस्तकको विमोचन गरियो । विमोचन भइरहँदा शङ्ख र घन्ट बजाइएको थियो । कार्यक्रममा लेखक घिमिरेलाई आयोजक सिस्नुपानी नेपालले एक सय २८ वटा किला (काँटी)को माला लगाएर सम्मान गरिएको थियो ।