घोराही, २७ माघ । नेकपा एमाले दाङ नेकपा एमालेले थालेको मेची–महाकाली अभियानमा लाग्ने भएको छ । नेकपा एमाले दाङको विहीबार बसेको बैठकले मेचिकाली अभियानलाई सफल बनाउनका लागि पार्टीको सिंगो शक्ति परिचालन गर्ने निर्णय गरेको थियो ।

नेकपा एमाले दाङका अध्यक्ष टिकाराम खड्काको अध्यक्षतामा बसेको बैठकले आगामी फागुनको २१ गते देखि पूर्वबाट शुरु हुने पार्टीको मेची महाकाली अभियान अन्तरगत दाङमा आयोजना हुने कार्यक्रमलाई सफल बनाउनका लागि पार्टीको सिंगो शक्ति परिचालन गर्ने निर्णय गरेको हो । नेकपा एमालेले तराई केन्द्रीत गरेर थालेको थालेको यो अभियान अन्तर्गत आगामी फागुनको २९ र ३० गतेका दिन दाङमा कार्यक्रम हुने भएको छ ।

नेकपा एमालेका अध्यक्ष के पि शर्मा वली, वरिष्ठ नेता माधवकुमार नेपाल र झलनाथ खनाल लगायतका नेताहरुको सहभागिता रहने अभियान अन्तरगत फागुनको २९ गतेका दिन लमहीमा र ३० गतेका दिन घोराही र तुलसीपुरमा वृहत कार्यक्रम हुने भएको छ । अभियान अन्तरगत दैनिक रुपमा एक हजार जना कार्यकर्ताहरु सहभागि हुनेछन् । नेकपा एमाले दाङले २९ गतेका दिन धानखोलामा पुर्वबाट आउने टोलिलाई स्वागत गर्ने भएको छ । सोही दिन लमहीमा बृहत कार्यक्रम आयोजना गरेर अभियानका सहभागिहरु घोराहीमा बास बस्नेछन् । ३० गतेका दिन घोराहीबाट हिड्ने टोली दिउसो तुलसीपुरमा कार्यक्रम गरेर विदायी हुनेछ ।

एमाले दाङको बैठकमा पार्टीको सिंगो शक्ति अभियानमा लगाउने निर्णय गरिएको नेकपा एमाले दाङका सचिव हिराचन्द्र केसीले जानकारी दिनुभयो । केसीका अनुसार अभियानलाई सफल बनाउनका लागि जिल्ला कमिटी, क्षेत्रिय कमिटी, नगर कमिटी, गाउँ पार्टी कमिटी लगायत जिल्लामा रहेका सवै संगठित सदस्य लगायत आम शुभेच्छुक एवं समर्थकलाई परिचालन गरिनेछ ।

पार्टीले अभियानलाई सहयोग पुराउने गरेर आगामी फागुनको ६ र ७ गते जिल्ला स्तरिय प्रशिक्षण कार्यक्रम गर्ने निर्णय पनि गरेको छ । यसैगरी फागुनको २१ गतेका दिन सवै गाउँ र नगरमा कार्यक्रम गरेर फागुनको २९ र ३० गतेको कार्यक्रमका लागि अन्तिम तयारी गरिनेछ । यसका साथै एमालेले थालेको यो अभियानलाई सहयोग गर्नका लागि आम जनसमुदायमा जाने निर्णय पनि गरिएको सचिव केसीले जानकारी दिनुभयो ।

बैठकमा नेकपा एमालेका पोलिटव्युरो सदस्य भागवत विश्वासीले एमालेले तराइ केन्द्रीत अभियान संचालन गरेको भन्दै यो अभियानले सरकारलाई निर्वाचनका लागि दवाव दिने विश्वास लिइएको पनि उहाँले बताउनुभयो । नेकपा एमाले दाङमा विगतमा देखिएको समस्यालाई समाधान गर्दै सर्वसम्मत रुपमा कमिटी गठन गरिएको भन्दै विश्वासीले अव सामुहिक रुपमा अघि बढ्न कमिटीलाई निर्देशन दिनुभयो । नेकपा एमालेको नेतृत्वमा रहेको सरकारले गरेका कामका कारणले गर्दा आज देशभर एमालेप्रति आकर्षण बढीरहेको भन्दै यो आकर्षणलाई जोगाइराख्न सवै लाग्नुपर्ने बताउनुभयो ।

बैठकमा नेकपा एमाले दाङ जिल्ला इञ्चार्ज तथा केन्द्रीय सदस्य मेटमणि चौधरीले नेकपा एमालेलाई मुलुककै बहुमत सहितको पहिलो पार्टी बनाउनका लागि सवै परिचालित हुनुपर्ने आवश्यकता रहेको बताउनुभयो । उहाँले अव कुनै पनि बाहना नचल्ने भन्दै काममा खटीनेको उच्च मूल्याङकन गरिने पनि बताउनुभयो । चौधरीले आगामी फागुनको २१ गतेदेखि शुरु हुने मेची महाकाली अभियानलाई सफल बनाउनका लागि लाग्न सवैलाई अनुरोध गर्नुभयो ।

बैठकमा पूर्व अध्यक्षहरु नरुलाल चौधरी, लक्ष्मण आचार्य, सल्लाहकार परिषदका पूर्व सदस्य छविलाल वली, सहकारी विभागका घनश्याम पाण्डे, सामाजिक सेवा विभागका विकीरण गौतम, आदीबासी जनजाती महासंघका उप कोषाध्यक्ष रामप्रसाद चौधरी लगायतले बोल्नुभएको थियो । बैठकमा आउँदै गरेको स्ववियु निर्वाचन लगायतका बिषयमा छलफल गरिएको थियो । बैठकको संचालन सचिव केसीले गर्नुभएको थियो ।