राजविराज, २४ माघ । सप्तरीमा आफ्नै भजितको हत्या गर्ने एक महिलालाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालयका अनुसार पातो गाविस–५ का तीन वर्षीय रामअवतार खंग मण्डललाई घरभित्रै घाँटी थिचेर हत्या गर्ने उनकै काकी २५ वर्षीया उर्मिलादेवी खंग मण्डललाई सोमबार पक्राउ गरेको हो।
बालककी आमा चन्द्रिका देवी पात लिन जंगल गएको मौका छोपेर उर्मिलाले बालकको घाँटी थिचेर हत्या गरेको प्रहरी निरीक्षक नारायणप्रसाद भट्टराईले जानकारी दिए।
बालकका हजुरवुवा रामदेव खंग मण्डलको जाहेरीका आधारमा उर्मिलालाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालयले कर्तव्य ज्यान मुद्दामा थप अनुसन्धान भइरहेको जनाएको छ।
मृतकका बुवा धर्मदेब खंग मण्डल र काका अशोक खंग मण्डल सिलाई कटाईको कामका लागि भारतको मुम्वईमा बस्दै आएका छन्। तीन दिनअघि मृतककी आमा चन्द्रिकासँग उर्मिलाको घरायसी विवादमा झगडा भएको थियो।
