काठमाडौं, १९ माघ । सरकार स्थानीय तहको निर्वाचन घोषणा गर्ने अन्तिम तयारीमा छ । आज वस्ने व्यवस्थापिका संसदको बैठकबाट निर्वाचन विधयेक पारित गर्ने र निर्वाचनको मिति घोषणा गर्ने सरकारले तयारी गरेको सरकारका प्रवक्ता सुरेन्द्रकुमार कार्कीले बताए ।
यसैबीच आज प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले स्थानीय तह पूनर्संरचना आयोगले सरकारलाई बुझाएको प्रतिवेदनबारे संविधानविदहरुसँग परामर्श गरेका छन् ।
सत्तारुढ दलका प्रमूख नेताहरुको उपस्थितिमा प्रधानमन्त्रीले संविधानविदहरुसँग परामर्श गरेका हुन् । परामर्शमा प्रधानमन्त्रीले स्थानीय तह पूनर्संरचना आयोगले बुझाएको प्रतिवेदनलाई सर्वस्वीकार्य बनाउने विधि र कानूनी व्यवस्थाबारे संविधानविदहरुसँग राय मागेका थिए ।
त्यस क्रममा संविधानविदहरुले सरकारले तोकेको मापदण्ड र कार्यदेश अनुसार सुझाव मात्रै पेश गर्ने अधिकार आयोगको भएकाले सरकारले आवश्यकताअनुसार प्रतिवेदन परिमार्जन गर्नसक्ने सुझाव दिएका थिए ।
