काठमाडौं, १७ माघ । प्रमुख सत्तारुढ दल र मधेसी मोर्चाबीचको बैठक बिना निर्णय सकिएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान बसेको बैठकमा मधेसी मोर्चाले स्थानीय तहको संख्याको विषय प्रमुखताका साथ उठाए ।
जनसंख्याको अनुपातमा स्थानीय तह पनि हुनुपर्यो, मधेसमा जनसंख्या ५२ प्रतिशत छ भने स्थानीय तह पनि त्यही अनुपातमा हुनुपर्यो,ु मोर्चाका एक नेताले भने त्यसैले संविधान संशोधन हुँदा स्थानीय तहको विषयमा पनि पुनर्विचार हुनुपर्यो।
नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठका अनुसार मोर्चाले स्थानीय तहका विषयमा विगतमा राख्दै आएको अडानमा जोड दिएको थियो। बैठक बुधबार फेरि बस्ने गरी स्थगित भएको नेता श्रेष्ठले बताए।
प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधान संशोधन, स्थानीय निकायको निर्वाचनलगायत विषयमा छलफल गर्न बैठक बोलाएका थिए। संविधान संशोधनलाई प्रमुख विषय बनाउँदै आएको मोर्चाले यसपटक भने स्थानीय तहको संख्याका विषय अघि सारेको हो।
