दिपक बोहरा, तुलसीपुर १४ माघ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले तीन वटै तहको निर्बाचन मंसिर भित्रै गरिसक्नुपर्ने बताएका छन् । तुलसीपुरमा बिहिबारदेखि सुरु भएको मध्यपश्चिम क्षेत्रीय व्यापार तथा पर्यटन महोत्सव एवं औद्योगिक कृषि मेला २०७३ को उद्घाटन गर्दै उनले त्यसैका लागि चाँडै चुनाबको मिति घोषणा गरिने जानकारी दिए ।
उनले भने‘ राजनीतिक दलहरु मिलेर छिटै चुनाबको मिति घोषणागर्नुपर्छ ।’ तर उनले पहिले स्थानीय निकायको निर्वाचन हुनुपर्छ भन्ने काँग्रेसले चाहेको बताए । त्यसपछि प्रान्तिय र केन्द्रिय निर्बाचन गर्नु उपयुक्त हुने उनको धारणा थियो । नेपाली जनताले चुनाब र संबिधान कार्यान्वयन चाहेको हुँदा प्रमुख राजनीतिक दलहरु त्यसतर्फ केन्द्रित हुनुपर्ने सभापति देउबाको भनाई थियो ।
उनले दलहरुका बीचमा सहमति कायमै गरेरै निर्वाचनको मिति तोकिने बताए । उनले भनेका थिए ‘ अब १ वर्षपनि छैन तीन वटा निर्वाचन गराउनु छ र त्यो मंसिर भित्रै सक्नुछ ।’ संविधान सभामा प्रस्तुत विधेक पारित हुने बताएका उनले चारपाँच ठाँउमा समस्या देखिएकोले त्यो सहमति मै मिलाउने बताए ।
फरक प्रशंगमा उनले टरिगाँउ एयपोर्टको विकास गरेरै छोड्ने बताएका थिए । आफु कुनै दिन तुलसीपुरवाट प्लेन चढेर जाँदा १५ मिनेटमै बाँके पुगेको स्मरण गरेका पूर्वप्रधानमन्त्री देउवाले यो एयपोर्ट सरकारले बनाउने बताए । प्राविधिकको सर्भै रिपोट हेरेर त्यसलाई अन्तिम रुप दिन आफुले सघाउने उनले विश्वास दिलाएका थिए । उनले तुलसीपुरमा इन्धन डिपो स्थापनाका लागि समेत सघाउने वचन दिएका छन् ।
सभापति देउवाले तुलसीपुरमा सभागृह निर्माणका लागि आयोजना गरिएको महोत्सव सफलताको शुभकामना व्यक्त गरेका थिए । उनले यस्ता सभागृहरु सरकारले नै बनाउनुपर्ने आवश्यक्तामा जोड दिएका थिए । दाङ प्रादेशीक राजधानी बन्नेमा आषावादी बन्न आग्रह गरेका उनले त्यो भने प्रदेश सभाको काम भएको बताएका थिए । उनले दाङलाई सुन्दर र ठूलो उपत्यका भएकोले यसको त्यही अनुरुप विकास गरिनुपर्ने बताएका थिए ।
कार्यक्रममा बिशिष्ट अतिथि सिंचाई मन्त्री दिपक गिरीले दाङलाई बाह्रै मास सिंचाई पुर्याउने गरि आफुले काम गरिरहेको बताएका थिए । बृहत सिंचाई आयोजना मात्रै हैन , ववई आयोजना, रवर ड्याम आयोजना , सोलार तथा मोटर लिफ्ट आयोजनाले दाङमा सिंचाई प्रवन्ध मिलाउने उनले योजना सुनाएका थिए । बृहत सिंचाई आयोजनाको सर्भैको लागि एक करोड बजेट छुट्याएको बताएका उनले जिल्लामा सिंचाई प्रवन्ध मिलाउन छिट्टै दुई अर्व वजेटको छुट्याउने योजना सार्वजनिक गरेका थिए ।
त्यस्तै उनले तुलसीपुर सुर्खेत सडक खण्ड कालोपत्रेका लागि सक्रिय पूर्वक पहल थाल्ने बताएका थिए ।
फरक प्रशंगमा उनले काम गर्ने समयमा संसद अबरुद्ध गरेर अहिले छिटै चुनाबको मिति घोषणा गर भन्नु लज्जास्पद भएको बताएका थिए । काम गर्ने समयमा एमाले लगायतका दलले संसद चल्न नदिँदा आवश्यक ऐन कानुन बनाउन ढिला भएकोले निर्वाचनको मिति घोषणामा ढिलाई भएको उनले बताएका थिए ।
काग्रेसका नेता समेत रहेका गिरीले तुलसीपुरको एयरपोर्टलाई नियमित बनाउन आफुले नियमित पहल थालेको बताए । ‘ भखरै मेरो पहलमा पर्यटन तथा नागरिक उड्यन मन्त्री जीवन बहादुर शाहीलाई एयरपोर्टमा ल्याएर अनुगमण गरायौं’ उनले भने ‘ प्राबिधिकले निरिक्षण गरि, त्यसलाई स्तरउन्नतिका लागि थाल्नुपर्ने कसरतको प्रतिबेदन मन्त्रालयमा पठाएका छन् ।’
कार्यक्रममा अर्का बिशिष्ट अतिथि एमाले उपाध्यक्ष युवराज ज्ञवालीले सरकारले छिट्टै स्थानीय निकायको चुनाबको मिति घोषणा गर्नुपर्ने बताए । ‘ प्रधानमन्त्री प्रचण्डले माघ १५ गते स्थानीय निकायको चुनाब गर्छौं भन्नु भएको छ ।’
उनले भने‘ तर अझै दलहरुलाई सहमति ल्याउन प्रयत्न भएको छैन्, कहिले र कसरी हुन्छ १५ गते चुनाबको घोषणा?’ संबिधान सभाबाट जारी भएको नेपालको संबिधान कार्यान्वायन गर्न प्रमुख राजनीतिक दल मिल्नु पर्ने उनको धारणा थियो । उपाध्यक्ष ज्ञवालीले राजनीतिक दलहरु नमिल्ने हो अहिले सम्मका उपलब्धी गुम्ने खतरा समेत औंल्याएका थिए । उनले प्रदेश नं. ५ को राजधानी दाङमै बनाउने पक्षमा रहेको भन्दै आफुलाई बुटवल राजधानी बनाउन कसरत गरिरहेको भनी लागेको आरोप सत्य नभएको बताए ।
उनले भने ‘मैले संबिधान निर्माण नहुँदै दाङ राजधानी बनाउने पक्षमा आवाज उठाउदै आएको छु ।’ प्रदेश राजधानी दाङमा बनाउन सरकारले गर्भनरको कार्यालय दाङमा अविलम्ब तोक्नुपर्नै उनले बताएका थिए । सरकारले गर्भनरको कार्यालय दाङमा राख्ने निर्णय गरेसंगै प्रदेशको राजधानी पनि दाङमै बन्ने उनको विश्वास थियो । फरक प्रसंगमा उपाध्यक्ष ज्ञवालीले दाङको बिकासका लागि तुलसीपुर–सुर्खेत सडक खण्ड छिटो निर्माण हुनुपर्ने बताए । ‘तुलसीपुर– सुर्खेत सडक खण्ड सञ्चालन भएमा डोटी, अछामका नागरिकलाई काठमडौ जान आउन छोटो पर्छ ’ उनले भने ‘ जसले गर्दा दाङको ब्यापार ब्यबसायमा बृद्धि हुन्छ ।’
कार्यक्रममा काँग्रेस केन्द्रीय सदस्य एवं सांसदहरु पार्बती डिसी चौधरी, बुद्धिराम भण्डारी, राजु खनाल, डिल्लीबहादुर चौधरी, अनिता देबकोटा, अनारकली मिया लागायत दाङमा क्रियाशिल बिभिन्न राजनीतिक दलका प्रतिनिधि, बिभिन्न सरकारी तथा सामाजिक संघसंस्थाका प्रतिनिधिलगायतले महोत्सब सफलताको शुभकामना ब्यक्त गरेका थिए ।
उद्घाटन कार्यक्रम तुलसीपुर उद्योग बाणिज्य संघका अध्यक्ष बिमल रिजालको अध्यक्षता भएको थियो । बाणिज्य संघका उपाध्यक्ष बिरु रावतले धन्यबाद ज्ञापन गरेको कार्यक्रमको सहजीकरण महासचिब नेत्रलाल वलीले गरेका थिए । महोत्सबमा आज लोक दोहरी गायिका राधिका हमाललगायत एक दर्जन कलाकारहरुको प्रस्तुती रहने आयोजकले जानकारी दिएको छ । तुलसीपुर उद्योग बाणिज्य संघको आयोजनामा सुरु भएको यो महोत्सव २३ गते सम्म चल्ने छ ।
