इन्द्रेणी संवाददाता
घोराही, १५ जेठ
घोराहीको कटुवाखोला पुलमा गुणस्तरीय वालुवा नभएर माटो मिसिएको बालुवाको प्रयोग हुन पाइएको छ ।katuwa पुल निर्माणस्थल पुगेको सडक डिभिजन कार्यालय घोराही, नागरिक समाज दाङ, दाङ उद्योग वाणिज्य संघ र पत्रकारहरुको टोलीले माटोसहितको बबईको बालुवा प्रयोग गर्न थालेको भेटाएको हो ।

निर्माणस्थल पुग्नुभएका सडक डिभिजन कार्यालयका निमित्त प्रमुख सुरेश साहले वालुवा गुणस्तरहिन भएको भन्दै परिक्षण रिपोर्ट नआउदा सम्म उक्त बालुवा प्रयोग नगर्न ठेकेदार कम्पनीलाई आग्रह गर्नुभएको छ ।

उहाँले गुणस्तरहिन बालुवाको स्याम्पल लिएको जानकारी दिनुभयो । तर ठेकेदार कम्पनी शंकर मालि जेभिका पदमप्रसाद शर्माले उक्त बालुवा प्रयोग भइनसकेको र बालुवा धोएरमात्रै प्रयोग गर्ने बताउनुभयो । बबईबाट ल्याइएको बालुवा सिधै निर्माण स्थलमा भण्डारण गरिरहेका उनीहरुले निरीक्षण टोलीका अगाडि भने बालुवा पखाल्न ट्यांकर बोलाएर पानी हालेका थिए ।

निरिक्षण टोलीका सदस्य एवं दाङ उद्योग वाणिज्य संघका उपाध्यक्ष नारायण भुसालले यस्तो बालुवाको प्रयोगले पुल टिकाउ नहुने बताउनुभयो । निर्माण हुन थालेको पुलमा यो किसिमको लापरवाही हुनु सरोकारवालाको गैरजिम्मेवारी पन भन्दै आफनो क्षेत्रको विकासकालागि नागरिकहरुलाई खवरदारी जारी राख्न आग्रह समेत गर्नुभयो ।।