रुकुम- नेपाल टेलिकमले रुकुमको दुर्गम गाउँमा सेवा विस्तार गरेको छ । नेपाल टेलिकमले रुकुमका दुर्गम गाउँ गोतामकोटको दहडाँडा र रन्मामैकोट गाविसको भालिपो लेकमा सेवा विस्तार गरेको हो ।
उत्तर पश्चिमको गाविस गोतामकोट, स्यालाखदी, आठबीसकोटलगायतका जनतालाई सञ्चार सेवा प्रदान गर्ने उद्देश्यले नेपाल टेलिकम गोतामकोटको दहडाँडामा टेलिफोन टावर स्थापना गरेको नेपाल टेलिकम शाखा रुकुमका प्रमुख कृष्णप्रसाद शर्माले बताए ।
उनले भने, ‘रन्मामैकोटको भालिपो लेकमा टेलिकमको टावर स्थापना गरेसँगै पूर्वी रुकुमका दुर्गम गाउँ रन्मामैकोट, हुकाम, जाङ, सिस्ने, राङ्सीलगायत गाविसका सेवाग्राहीले सेवा पाउन थालेका छन् ।
यसका साथै कोल गाविसको विर्गुम लेकमा पनि नमस्तेको टावर बनिरहेको शाखा प्रमुख शर्माले जानकारी दिएका छन् । दुर्गम गाउँमा विद्युत सेवा नहुँदा सोलार सिष्टमबाट टावर सञ्चालन गरिएको छ ।