काठमाण्डौं , १० माघ । नेकपा ( माओवादी ) का महासचिव विप्लवले दलाल र भ्रष्टहरुलाई कालोमोसो दल्ने मात्र हैन अब रत्नपार्कको चौरमा ल्याएर जनकारबाही गर्ने उदघोष गरेका छन ।
अखिल क्रान्तिकारीले आयोजना गरेको अख्तियारका निलम्वित प्रमख लोकमान सिंह कार्कीलाई कालोमोसो दल्ने प्रकाश शाही र चन्द्र बुढालाई अभिनन्दन कार्यक्रममा बोल्दै महासचिव विप्लवले कालोमोसो सांकेतिक भएको भन्दै अब आम जनताले दलालहरु विरुद्ध क्रान्ति गर्नु पर्ने बताए ।
उनले अहिलेको संसदीय व्यवस्था र दलाल सत्तालाई अन्त्य गराएर समाजवादी सत्ता ल्याए पछि मात्रै देश र जनताको समृद्धि संभव भएको भन्दै सबै क्षेत्रबाट सहयोगको अपील गरे । देशको स्वाभिमान जोगाउन जस्तो सुकै कदम चाल्न तयार रहेको बताउदै उनले जनताले गर्ने आन्दोलनको नेतृत्व माओवादीले गर्ने बताए ।
एक फरक प्रसगमा उनले प्रचण्ड, बाबुरामले क्रान्ति छाडेर विदेशीको तलुवा चाटेर सत्तामुखि भएको टिप्पणी गरे । दलाल भ्रष्ट र विदेशीको डिजाईनमा लोकमानलाई अख्तियार प्रमुख बनाईएको उनको ठोकुवा थियो । महासचिव विप्लवले भने ‘कतिपय मानिसले लोकमानमाथि भएको कारवाहीलाई मरेको बाघको जुँगा उखालेको भनेर टिप्पणी गरेका छन्, त्यो गलत हो ।
लोकमानलाई पदमा लैजान पैसाको बिटो बुझ्नेहरु पनि कारवाहीमा पर्छन । त्यतिबेलाका राजनीतिक नेतृत्वमाथि पनि कारवाही गर्ने दिन आउँछ । त्यो कुनै कार्यलयमा होइन, रत्नपार्कमा ल्याएर गरिन्छ ।’ कार्यक्रममा उनले राष्ट्रले माग्यो भने जीवन बलिदान गर्न पनि तयार रहेको समेत बताए ।
कार्यक्रममा तत्कालीन अख्तियार प्रमुख कार्कीलाई कालोमोसो दल्ने चन्द्रबहादुर बुढा, प्रकाश शाही र विपेन्द्र गौतमलाई सम्मान गरिएको थियो । कार्कीलाई कालोमोसो दल्ने बुढा र शाहीलाई एक महिना हिरासतमा राखिएको थियो।