रबिन्द्र यादव
परासी, ९ माघ । नवलपरासीको नारायणी नदी अन्तर्गत गण्डक नदीमा ठोकर निर्माण कार्यहरु गुणस्तरहिन भैरहेको स्थानियले आरोप लगाएका छन् । ठेकेदार र साईट ईन्जिनियरको अनुपस्तिथीमा भैरहेको ठोकर निर्माण कार्यमा कमसल र स्थानिय मटेरियल प्रयोग गरि गुणस्तरहिन कार्य भैरहेको स्थानियले आरोप लगाका हुन् । गण्डकको ठोकर नं। ५ र १६ नम्बरको निर्माण कार्य शुरु भएको एक महिना भन्दा बढि भैसक्दा पनि ठेकेदार र साईट ईन्जिनियरको उपस्थिती देख्न पाइएको छैन । स्थानियले भने, ठेकेदारले तोकेको एक/दुई जना व्यक्ति मात्र उपस्थित हुन्छन् जसले निर्माणाधिन सामाग्री ल्याउने देखि मजदुर खोज्ने, ज्याला बाडने समेतका काम पनि गर्दछन् ।
वर्षेनी भारत सरकारले करोडौंको रकम गण्डकका ठोकरहरु निर्माण कार्यका लागि बिनियोजन गर्दै आएको छ । ठोकरहरुको वर्षेनी सिसी ब्लक ढलान गरि निर्माण पनि हुन्छ तर गुणस्तरहिन र कमजोर निर्माण कार्यले ठोकरहरु वर्षेनी भत्किने र धस्ने गर्दा ठोकरहरु पुर्णरुपमा ध्वस्त हुने गरेको क्षेत्र नं। ६ का सांसद देवकरण कलवार ९सन्तु० ले आरोप लगाए । सांसद कलवारले भने, यसरी गैर जिम्मेवारी तरिकाले भैरहेको गुणस्तहिन निर्माण कार्य लामो समयसम्म टिकाउ रहने छैन । निर्माण कार्यमा यसै नारायणी नदीको गिट्टी,बालुवा, ढुङ्गा,मिस्कट प्रयोग हुदै आएछ । सिमेन्ट मात्र बाहिरबाट ल्याइएछ त्यो पनि गुणस्तरीय सिमेन्ट होईन् । स्टिमेटमा बाहिर बाट गिट्टीबालुवा, ढुङ्गा, मिस्कट हरु प्रयोग हुनु पर्नेमा ठेकेदारले केहि सम्बन्धित निकायहरुलाई मिलाई लोकल मेटेरिय प्रयोग गरि करोडांैको बजेट अनियमितता गर्न खोजेको सांसद कलवारले आरोप लगाए ।
करोडौंको ठेक्कमा ३ वटा ठेकेदारहरुले ति ठोकर र नोजको सिसी ब्लक ढलानका निर्माण कार्य गरिरहेका छन् । नेपालकै गण्डकका ठोकरहरु निर्माण कार्यहुन्छ तर भारतीय ठेकेदारले ठेक्का पाउँछ । ठेकेदारहरुले आफ्नो मनपरि काम गर्छ सम्बन्धित निकाय लाईजन कार्यालय, नेपाल गण्डक पश्चिमी नहर सिंचाई प्रणाली सेमरी र स्थानिय प्रशासन समेतलाई कति बजेटको ठेक्का हो र के–के स्टिमेट हो पनि देखाउँदैनन् ।
गण्डकमा सरकारको लगानी बालुवामा पानी जस्तै भएको छ यि वर्षेनीका निर्माण कार्यहरु । वर्षेनी तिनै ठोकरहरुको निर्माण कार्य हुन्छ तर एकवर्ष पनि ति ठोकरहरु टिक्न सक्दैनन् । नारायणी नदीमा आउने भिषण बाढीले ठोकरहरु कटान हुने र भत्किने ठेकेदारहरुले सफाई दिने गरेका छन् । ठोकर निर्माण गर्दा बोरामा बालुवा भरि तलको बेस बनाउछन्, त्यसमाथि क्विन्टलका क्विन्टल सिसी ब्लक निर्माण गरि ठडयाउछन् जुन पानीले एक दुई महिनामै बोरा कुहिएर बाढीले बालुवा बग्दै जान्छ र गहु्रंगो ब्लकहरु नदीमा ढल्न पुग्छ, फेरि ठेकेदारहरुले भारतीय सरकारलाई त्यहि काम देखाई करोडांैको ठेक्का लिई खेती पाती गर्दै आएको लाईजन कार्यालयले आरोप लगायो ।
नेपाल भारतको सन्धी सम्झौता अनुसार ९नारायणी नदी गण्डकबाट कुनै किसिमका खोलाजन्य पदार्थ तथा पानी कुनै पक्षका व्यक्तिले झिक्न पाउँदैन तर भातरीय ठेकेदारले केहि भारतीय सम्बन्धित निकायका कर्मचारीहरुलाई मिलाई गण्डककै गिट्टीबालुवा, ढुङ्गामिस्कट झिकी अवैध उत्खनन गरि प्रयोग गर्दै आएको लाईजन अफिसर संजय मिश्राले आरोप लगाए ।
ठेकेदारहरुले स्थानिय मजदुरको अभावमा बालबालिकाहरुको पनि प्रयोग गरेका छन् । आर्थिक प्रलोभनमा पारी बालबिलाहरु ति ठोकरहरुको निर्माण कार्यमा प्रयोग गर्दै आएका छन् । यसरी कडा लेबरका काममा खटाईने बालबालिकाहरुलाई बाल श्रमको शोषण हुदै आएको छ तर बालबालिका क्षेत्र हेर्ने विभिन्न सरकारी तथा गैर सरकारी निकायहरु चुपचाप छन् ।
नेपाल भारतको सम्झौता अनुसार नारायणी नदी अन्तर्गत गण्डकको सम्पुर्ण निर्माण कार्य भारत सरकारले गर्दै आएको छ । वर्षा याममा नारायणीमा आउने भिषण बाढिले गण्डक बाँध र ठोकरहरुलाई कटान गरि बगाउने गर्दछ । बाढी गाउँमा नपसोस भनि भारत सरकारले वर्षेनी बाँधको उचित व्यवस्थापन गर्न विभिन्न लिन्क बाँध र ठोकरहरु निर्माण गर्दै आएको छ । गण्डक क्षेत्रका १३ गाविस मध्ये नदीको छेउका त्रिवेणी सुस्ता, कुडिया, नर्सही, पह्लिहवाँ, गुठीपर्सौनी लगायतका गाविसहरु बाढीको उच्च जोखिममा पर्ने गर्दछन् ।
