दाङ, ७ माघ । नेपाल पर्यटन बोर्ड भृकुटीमण्डप काठमाण्डौको आर्थिक सहयोग तथा नेपाल पर्यटन पत्रकार संघ(एन्टोज) केन्द्रीय कार्यालय दाङको आयोजनामा दुई दिने पर्यटन र पत्रकारिता अभिमूखिकरण तालिम हुने भएको छ। नेपाल पर्यटन बोर्ड र नेपाल पर्यटन पत्रकार संघबीच बिहीबार भएको सम्झौता अनुसार यही माघ १४ र १५ गते दाङको घोराहीमा तालिम आयोजना हुनेछ ।

NTOJ Logoसंघका केन्द्रिय अध्यक्ष धनिराम शर्मा र बोर्डकी पर्यटन सम्पदा तथा संशाधन विकास महाशाखा बरिष्ठ अधिकृत रानु शाहले विहीबार बोर्ड कार्यालयमा तालिम संचालन सम्बन्धी सम्झौतामा हस्ताक्षर गर्नुभएको हो । संघले आयोजना गर्ने तालिम कार्यक्रममा राप्तीका रोल्पा, रुकुम, सल्यान, प्यूठान, दाङ र भेरीका बाँके र बर्दिया शाखाका पदाधिकारी तथा सदस्यहरु सहभागी हुने छन् ।

अभिमुखीकरण तालिम कार्यक्रममा ६३ जनाको सहभागिता रहने संघका केन्द्रीय महासचिव केशरमान विसीले जानकारी दिनु भयो । तालिमको संयोजन तथा पत्रकारिता प्रशिक्षण संघका अध्यक्ष शर्माले गर्नुहुने भएको छ भने दुई जना पर्यटन विज्ञहरुले पर्यटनको विषयमा अभिमूखिकरण तालिम दिने छन् ।

तालिमको अनुगमन पर्यटन बोर्डका बरिष्ठ अधिकृतहरुले गर्ने संघका महासचिव केशरमान विसीले जानकारी दिए । संघको हालसम्म केन्द्रीय कार्यालय सहित सात जिल्लामा शाखा बिस्तार भएको छ भने दैलेख अर्घाखाँची पाल्पा, गुल्मीमा शाखा अधिवेशनको संयोजनको जिम्मेवारी तोकिएको छ ।