रोल्पा, ७ माघ । रोल्पामा उत्पादन तथा प्रसोधन गरी तयार गरिएको सुगन्धित तेल भारत, युरोप हुँदै अमेरिकासम्म पुग्ने गरेको छ । यसबारेको जानकारी आईडीई नेपाल, जडिबुटी तथा सुगन्धित तेल कार्यक्रमका कार्यक्रम अधिकृत विजय श्रेष्ठले जानकारी दिए ।
उनका अनुसार कृषि उत्पादकत्व वृद्धि तथा व्यवसायीकरण परियोजनाले रोल्पा जिल्लाको मिझिङ गाविसमा करिब अढाइ वर्ष पहिलेदेखि क्यामोमिल, मेन्था, सिट्रोनिला, पामारौजालगायतका सुगन्धित तेलको उत्पादन गर्दै आएको भएपनि दुई वर्षदेखि जडिबुटी प्रसोधन गरी तेल निकाल्न सुरु गरेको हो ।
यसरी जिल्लामा उत्पादित तथा प्रसोधित सुगन्धित तेल तथा अन्य जडिबुटी नेपालगन्ज र काठमाडौँका ब्यापारीले खरिद गर्दै आएकोमा पछिल्ला दिनमा सिधै भारत, युरोप र अमेरिका निर्यात हुन थालेको श्रेष्ठको भनाइ छ ।
मिझिङ गाविसका किसानहरुले विभिन्न सामुदायिक वनहरु तथा बाँझो जमिनबाट तीतेपाती सङ्कलन गरी सुनाछहरी जडिबुटी प्रसोधन केन्द्रमा प्रसोधन गरी सुगन्धित तेल उत्पादन तथा बजारीकरण गर्दै आएका छन् ।
हाल टिमुरबाट पनि सुगन्धित तेल निकाल्नका लागि तयारी भइरहेको छ । श्रेष्ठका अनुसार जडिबुटी खेती तथा प्रसोधनबाट हालसम्म मिझिङ गाविसका १०७ घरधुरी लाभान्वित भएका छन् ।
यसरी जडिबुटी उत्पादन तथा प्रसोधनका लागि सामुदायिक वनमा आबद्ध भएका ब्यक्तिहरु, थोरै भएपनि खेतीयोग्य जमिन भएका परिवारहरु, सामुदायिक वनका ‘ग’ वर्गका उपभोक्ताहरु तथा सिँचाइको सुविधायुक्त जमिन हुने घरधुरीलाई प्राथमिकतामा राखिएको छ ।
मिझिङ–७, छिर्नेमा करिब पाँचलाख मूल्य बराबरको मेसिन राखिएको भएपनि व्यवस्थित हुन नसकेपछि हाल मेसिन सुलिचौर–१ रुइनिबाङमा पुनःस्थापना गरिएको छ । डिस्टिलेसन युनिटबाट जडिबुटी प्रसोधन गरी सुगन्धित तेल निकालिन्छ ।
हाल समूदायको मातहतमा रहेको जडिबुटी प्रसोधन केन्द्रलाई निकट भविष्यमा स्थानीय जडिबुटी व्यापारीद्वारा व्यवस्थापन गर्ने बताइएको छ ।
यसरी व्यवस्थापन भइसकेपछि ती व्यापारीले समुदायबाट कच्चा जडिबुटीहरु, तीतेपाती र सिट्रोनेला खरिद गरी प्रसोधन गर्नेछन् । यसरी अगाडि बढ्दा जडिबुटीका कृषकहरुलाई बजारीकरणमा सहजता हुनुका साथै जडिबुटीको उचित व्यवस्थापन हुने परियोजनाले जनाएको छ ।
औषधिको रुपमा, सृङ्गारका सामग्री निर्माण गर्न तथा सरसफाइका सामग्रीहरु बनाउनका लागि यी तेलहरु प्रयोग गर्ने गरिन्छ । RSS
