जाजरकोट, ७ माघ । अब शिक्षकले पढाएर मात्र नहुने भएछ। उनीहरुले पढाएको आधारमा विद्यार्थीले कस्तो नतिजा ल्याउँछन्, त्यसको आधारमा तलब पाउने भएछन्। जाजरकोटका २६ गाविस र एक नगरपालिकामा सञ्चालनमा ल्याइएको अनौपचारिक शिक्षाका शिक्षकलाई नतिजाका आधारमा तलब भुक्तानी गरिने भएको हो।

ind_imgरकम मात्र जाने तर साक्षर नहुने चलनलाई चिर्नका लागि अब नतिजाको आधारमा मात्र तलब भुक्तानी गरिने जिल्ला शिक्षा अधिकारी ललितविक्रम सिंहले बताए। जिल्लालाई साक्षर घोषणा गरिसकेपछि कोही पनि शिक्षाबाट वञ्चित नहुन् भनी यो अभियानलाई कडाइका साथ अगाडि बढाइएको जिशिअ सिंहको भनाइ छ।

‘यसले गर्दा बिद्यार्थीलाई छिटो साक्षर बनाउँछ, अनि मात्र शिक्षकले तलब पाउँछन्’ उनले भने, ‘नतिजा हेरेर मात्र तलब भुक्तानी गरिँदा शिक्षकलाई पनि जिम्मेवार र उत्तरदायी बनाउँछ।’

बिद्यालय जानबाट बञ्चित भएका तर पढ्नलाई निकै रुचि राख्ने, गरिबीका कारण पढाइ छाड्न बाध्य भएकालाई यो कार्यक्रमले समेट्नेछ। यो कार्यक्रम तीन महिना चल्ने छ। जिल्ला शिक्षा कार्यालयले जिल्लाभरि १५० वटा कक्षा सञ्चालनमा ल्याएको छ। प्रतिकक्षा १० विद्यार्थी सहभागी भएका छन्। रासस