प्रवीर ददेल
रुकुम, ६ माघ । स्यालाखदी–९ रुकुमका भिमबहादुर बुढाले स्याउ बेचेर २ लाख ५० हजार रूपैयाँ आम्दानी गर्ने लक्ष्य लिएका थिए । परिवारको लालपालन र गाउँमै जग्गा थप्ने योजना पनि थियो उनको । तर उनको योजना योजनामानै सिमित भयो ।
त्यस्तै रन्मामैकोट ३ का दलबहादुर पुनले गत वर्ष स्याउ खेतीबाट २ लाख ५० हजार रूपैयाँ आम्दानी गरेका थिए । उनले यस वर्ष मुस्किलले ५० हजार रूपैयाँ मात्र कमाइ गर्न सके । उनले ५ रोपनी जग्गामा गरेको स्याउखेती बाट उक्त आम्दानी गरेका हुन् ।
उत्पादन घटेपछि वुढा र पुन जस्तै हजारौँ किसानकको सपना तुहिएको छ । स्याउको उत्पादन घटेपछि स्यालाखदी, तकसेरा रन्मामैकोट, सिस्ने, हुकाम, जाङ, राङ्सी लगायतका दुई दर्जन गाविसका किसान मारमा परेका छन् ।
गत आर्थिक वर्षको तुलनामा यस वर्ष झण्डै ७ प्रतिशतले स्याउ उत्पादनमा कमी आएको छ । समयमा पानी नपर्नु, स्याउका बोटमा किरा लाग्नु, स्याउका फूल असिना पानीले झारेको जस्ता विभिन्न कारणले स्याउ उत्पादन घटेको किसानहरु बताउँछन् । स्याउको फलमा कालो दाग देखिएको र रोग नियन्त्रण नहुँदा उत्पादन घटेको तकसेरा ६ का जद्धबहादुर पुनले बताए ।
गत वर्ष २८ सय ४८ मेट्रिक टन स्याउ उत्पादन भएकोमा यस वर्ष २६ सय ७० मेट्रिक टन मात्र उत्पादन भएको जिल्ला कृषि विकास कार्यालय रुकुमका बरिष्ठ कृषि विकास अधिकृत सहदेवप्रसाद हुमागाईँले जानकारी दिए । अभियान दैनिकमा खवर छ । उनी भन्छन् ‘यस वर्ष स्याउको बोटमा रोग तथा किरा लाग्नु, फुल असिनाले झार्नु र समयमा पानी नपरेका कारण उत्पादन घटेको हो ।’
आगामी वर्ष स्याउ उत्पादन वढाउने योजना बनाउँदै गरेको कृषि विकास कार्यालय रुकुमले बताएको छ । जिल्लाको स्याउ उत्पादन क्षेत्रलाई पकेट क्षेत्र घोषणा गरी उत्पादनमा जोड दिने बरिष्ठ कृषि अधिकृत हुमागाईँले बताए ।
