काठमाडौं, ५ माघ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालको शान्ति र संविधान निर्माण प्रक्रिया विश्व समुदायकै लागि मौलिक र शिक्षाप्रद रहेको बताएका छन् । आज बुधबार दिउँसो न्यूयोर्क यूनिभर्सिटीको प्रतिनिधि मण्डलसँगको भेटमा प्रधानमन्त्रीले उक्त कुरा बताएका हुन् ।

IMG_0786-848x478प्रतिनिधि मण्डलसँगको भेटमा प्रधानमन्त्रीले भने, ‘विश्वमा युद्ध र शान्तिका थुप्रै उदाहरणहरु छन् । थोरै देशमा मात्रै शान्ति प्रक्रिया सफलतामा पुगेका छन् । तर, नेपालको शान्ति प्रक्रिया र संविधान निर्माण प्रक्रिया आफैमा मौलिक छ, विश्व समुदायका लागि शिक्षाप्रद छ । हाम्रो शान्ति प्रक्रियाले युद्धरत देशहरुले राजनीतिक सम्वाद र सहकार्यका माध्यमबाट कुनै पनि समस्याको समाधान खोज्न सकिन्छ भन्ने सन्देश दिएको छ ।’

नेपालको जस्तो शान्ति प्रक्रिया विकसित मुलूकमा भएको भए त्यसले थप महत्व पाउने उल्लेख गर्दै प्रधानमन्त्रीले भने, ‘तर शान्ति प्रक्रिया नेपालजस्तो विकासशील मुलूकमा सफल भयो । कतिपय देश र समुदायले यसलाई खासै महत्व दिएको देखिँदैन ।

नेपालको जस्तो शान्ति र संविधान निर्माण्णको प्रक्रिया मौलिक ढंगले युरोप वा अमेरिकी देशमा सम्पन्न भएको भए त्यसले विश्व स्तरमै छुट्टै महत्व पाउथ्यो । त्यसलाई विश्वमा शान्ति स्थापनाको युगान्तकारी र मौलिक कदम ठानिन्थ्यो ।’