काठमाडौं, ५ माघ । नेपाल आयल निगम पेट्रोलियम पदार्थमा लिने नाफामा केही कडाइ गरेको छ । निगमले अब पेट्रोलियम पदार्थमा परल मूल्यको पाँच प्रतिशतभन्दा बढी नाफा लिन नपाउने भएको छ ।
अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य घटेका बेला स्थानीय बजारमा २० प्रतिशतसम्म नाफा राख्न थालेपछि सरकारले निगमको नाफामा कडाइ गर्ने भएको बताइएको छ । हाल पेट्रोलमा १२ प्रतिशतसम्म र डिजेलमा एक प्रतिशत मात्रै नाफा राख्न पाइने व्यवस्था भए पनि निगमले कार्यविधि उल्लंघन गरेर २० प्रतिशतसम्म नाफा राखेर इन्धन बिक्री गर्दै आएको थियो ।
निगमले पेट्रोलियम पदार्थको स्वचालित मूल्य कायम गर्दा परल मूल्यमा पाँच प्रतिशतभन्दा बढी नाफा राख्न नपाइने व्यवस्था गरिएको हो । आपूर्ति मन्त्रालयले पेट्रोलियम पदार्थको स्वचालित मूल्य प्रणाली कार्यान्वयन कार्यविधि २०७१ परिमार्जन गरी यस्तो व्यवस्था गर्न लागेको हो ।
मन्त्रालयका उपसचिव कोमलबहादुर खत्रीले निगमले पेट्रोलियम पदार्थको खरिद मूल्यमा पाँच प्रतिशतभन्दा बढी नाफा राख्न नपाइने व्यवस्था गरिएको जानकारी दिए ।
“अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य बढेर आएपछि निगमले मूल्य स्थिरीकरण कोषमा जम्मा भएको रकमबाट मूल्य समायोजन गर्नुपर्ने व्यवस्था गरिएको छ,” खत्रीले भने “अदेखि निगमले डिजेल र पेट्रोलमा परल मूल्यको पाँच प्रतिशतभन्दा बढी नाफा राख्न पाउँदैन ।”
