Keki-Adhikari

अभिनेत्री केकी अधिकारी

अहिले सम्म कतिवटा चलचित्रमा काम गर्नु भयो ?

मेरो कलाकारिता यात्रा म्युजिक भिडियोबाट सुरु भएको हो । नेपाली गीतको धेरै वटा म्युजिक भिडियोमा काम गरे पछि मात्रै मलाई चलचित्रमा अफर आएको हो । सन् २०११ देखि मैले चलचित्र क्षेत्रमा व्यवसायिक रुपमा काम गर्न थालेँ । काम गर्ने दौरानमा कति चलचित्रलाई दर्शकले माया गर्दिनु भयो कतिलाई गर्नु भएन ।

मैले अभिनय गरेको सबै चलचित्र पूर्ण रुपमा राम्रो छ भनेर म भन्न पनि सक्दिन किनभने सिक्नेक्रम अझै सकिएकोे छैन । कामगर्ने क्रममा हरेक क्षेत्रमा दैनिक जसो नयाँ कुराहरु आईरहेका हुन्छन् । मैले मेरो दर्शक, श्रोतालाई अभिनय मार्फत कति चिन्न सकेँ भन्ने कुरा दर्शककै जिम्मामा छ । यो ६ वर्षको समयावधिमा मैले १५ वटा चलचित्रमा काम गरिसकेको छु ।

मलाई प्रायले धेरै चलचित्रमा काम गर्नु भयो भन्नुहुन्छ तर अन्य कलाकारको तुलनामा मेरो कुरा गर्ने हो भने चलचित्रमा मैले निकै कम काम गरेको हो । प्रत्येक महिनामा एक चलचित्र खेल्ने कलाकार हाम्रै ठाउँमा हुनुहुन्छ ।

तपाईको कपाल बढेको हो र ?

मेरो कपाल बढेको भन्दा पनि बिग्रेको हो । चलचित्रमा काम गर्ने क्रममा कहिले सिल्की कहिले कर्ली गर्नुपर्छ । विभिन्न केमिकलको प्रयोगका कारण अहिले कपाल बिग्रेक छ भन्दा फरक नपर्ला । प्राकृतिक रुपमा आएको कपाल एक पटक बिग्रिए पछि जति प्रयास गर्दा पनि राम्रो हुन्न ।
कपाल राम्रो हुनको लागि फेरि नयाँ कपाल पलाउनु पर्छ । चलचित्रमा काम गरे पछि कथावस्तु अनुसार चल्नुपर्छ । यसमा मेरो कुनै पनि गुनासो छैन । कलाकार हुनुमा म गर्भ गर्छु मेरो कपाल बिग्रियो भनेर दुखी हुन चाहन्न ।

‘लभ सासा’मा त खुब रमाइलो भयो होला है, ह्याण्डसम हिरोसँग खेल्नु भएको रहेछ ?

कर्मा मलाई मनपर्ने कलाकार हो । चलचित्र सानो संसार हेर्दा देखि नै मलाई कर्माको अभिनय मन परेको थियो । त्यो बेलादेखि नै म उहाँसंग चलचित्र खेल्ने मौका कहिले आउँछ ? भनेर कुरेरै बसेको थिएँ । झन उहाँको गुङरुङ्ग परेको कपालको त फ्यानै हो म ।

अहिले यो मौका ‘लभ सासा’ चलचित्रका निर्देशक प्रचण्डमान श्रेष्ठले मिलाई दिनुभएको छ । निकै खुसी लागेको छ । यो चलचित्रमा अन्य सिनेमाको जस्तो रोमान्स खासै छैन । त्यसैले मनपरेको हिरोसंग रोमान्स गर्न पाईएन । तर हामी कलाकारले कथालाई कहिल्यै पनि भुल्नु हुन्न त्यो नै हाम्रो धर्म हो ।

‘लभ सासा’ चलचित्रमा को–को हुनुहुन्छ ?

यो चलचित्रमा आर्थिक सहयोग माधव वाग्लेको रहको छ । निर्देशक प्रचण्डमान श्रेष्ठ उहाँको पनि लगानीे छ । लभ सासामा म केकी अधिकारी अनि कर्मा छौँ । चलचित्रलाई शिवराम श्रेष्ठले खिच्नु भएको हो ।

‘लभ सासा’ले केकीको करिअरमा कस्तो फाइदा पुर्याउला ?

अहिले नै भन्न सक्दिन म । तर दर्शकको माया पाएको खण्डमा पक्कै राम्रो हुन्छ । मेरो करिअरको जिम्मा त दर्शकै हातमा छ । लभ सासाको म शीर्ष भूमिकामा नै छु । शीर्ष भूमिका पाउनु राम्रो कुरा हो । चलचित्रले राम्रो व्यापार गरेको खण्डमा मेरो करिअर पनि राम्रो हुनेछ ।

चलचित्र लभ सासा अरु चलचित्रमा भन्दा के फरक छ ?

चलचित्र ‘लभ सासा’ मैले अहिले सम्म अभिनय गरेको भन्दा नितान्त फरक चलचित्र हो । अन्य चलचित्रमा धेरै हाँस्नु पर्ने अनि रिस देखाउनु पर्ने छ भने यो चलचित्रमा त्यस्तो छैन । एकदमै फरक रहेको छ । प्राकृतिक, सिम्पल अनि सुईट लभ स्टोरी छ ।

चलचित्रमा यर्थाथ कुरा उर्तानको लागि साँच्चिकै लभ गर्दा राम्रो हुने होइन र ?

चलचित्रमा यर्थाथ कुरा ल्याउनलाई लभ नै गर्नुपर्छ जस्तो मलाई लाग्दैन । त्यो त कलाकारमा भरपर्ने कुरा हो । साँच्चैको लभ जोडीले काम गर्दा सिनेमामा राम्रो फिलिङस आउने हो भने त हामी जोडी नहुनेलेचै के गर्ने

प्रेमकै कुरा गर्ने हो भने अहिले सम्म कुनै पनि केटाले प्रेम प्रस्ताव राखेका छैनन् मलाई । कतै मेरो पहिले नै केटा छ भनेर प्रस्ताव नगरेको हो की, बुझ्नै सकेको छैन । मेरो लभ परेको छैन भन्दा पनि कसैले पत्याउने होईन ।

चलचित्रका नायक कर्मा शाक्य तपाईँलाई कस्तो लाग्यो ?

कर्मा शाक्यसंग यो मेरो पहिलो चलचित्र हो । मेरो नजरमा कर्मा सोझो, अभिनयमा लगाव भएको कलाकार हो । काम गर्ने क्रममा आफ्नो सहकर्मीले जति टेक खाँदा पनि त्यो कुरामा नरिसाउने, उल्टै प्रोत्साहन गर्ने कलाकार हो कर्मा ।

हामी दुबै जनाले चलचित्र सुटिङको एक सम्वादमा क्रममा ५१ टेक खाएका थियौं । एउटा सम्वादको लागि ५१ पटक प्रयास गर्नुपर्यो । जति टेक खाए पनि कलाकारको राम्रो अभिनय खोज्ने निर्देशकमा प्रचण्डमान श्रेष्ठ पर्नुहुन्छ ।

नाटक पनि काम गर्नुभयो ?

चलचित्र क्षेत्रको लागि मलाई ‘चारुमती’ नाटकले धेरै कुरा सिकाएको छ । चलचित्रको सुटिङ्ग सकेर फुर्सदमा बसेको बेलामा मलाई ‘चारुमती’ नाटकको ‘चारुमती’कै भूमिकाको लागि अफर आएको थियो । मैले चलचित्र र नाटकमा काम गर्दा कस्तो हुन्छ भन्ने कुराको प्रत्यक्ष जान्नु पनि परेको थियो ।

नाटक गर्दा र चलचित्रमा काम गर्दा धेरै फरक कुरा मैले पाएँ । धेरै कुरा सिक्ने मौका पनि पाएको छु । जुन कुराले चलचित्र क्षेत्रमा सहयोग गरेको छ । चलचित्रमा धेरै पटक टेक हुन्छ भने नाटकमा प्रत्यक्ष रुपमा अभिनय गर्नु पर्ने हुन्छ त्यो पनि दर्शकको अगाडि ।

चलचित्रमा अभिनय गरेको सम्पादन गरेर पछि पर्दामा आउने हो भने नाटकमा त हामी दर्शकको माझमा फेस टु फेस आउनु पर्छ । एउटा नाटकको लागि तीन महिना समय खर्चेको छु । एक महिना रिडिङमा लाग्यो, अर्को एक महिना रिहल्सनमा अनि अर्को एक महिना स्टेजमा ।

पढेको नायिका अन्तरजातिय विवाह कस्तो लाग्छ तपाईँलाई ?

विवाहको लागि मन मिल्नु पर्छ चिना होइन । त्यसैले मन मिलेको अवस्थामा जुनसुकै जातसँग पनि विवाह गर्ने रेडी छु म त तर अहिले होइन २–४ वर्षपछि । उज्ज्यालोबाट