panch bismriti
पञ्च विस्मृत

दनदन बलिरहेछ आगो
दनदन, दनदन ।।।
फक्लक्क–फक्लक्क उप्किएर खस्दैछन्
खरानी हुँदैछन् आफ्नै आँखाअगाडि
आफ्नै अस्तित्वका अङ्ग–प्रत्यङ्ग
हे भगवानुको भावमा उभिएको छ
मूक समय ।
एक जोडा लाचार हात
जहाँ सन्ततिका तसबिरहरु छन्
लक्ष्य र उद्देश्यहरुले भरिएका एक जोडा आँखा
जसमा सन्ततिका लागि
भविष्यको खाका देखिन्छ
एक जोर अधीनस्थ पाउ
जसमा हजार पाउ चढ्न सक्ने
सामर्थ्य झल्किन्छ
र, एक चट्टानको ढाँड
जसले जीवन बोकेर
हुर्काएको थियो जीवन ।
चार कोसको यात्रा थाँती छ
शरमको सङ्घार काट्न नपाउँदै
हार्दै गएका छन्
परिस्थितिको चिमनीबाट
धुवाँ स्वास फेर्दै, बौलट्टिपनको महफिलमा
मच्चिँदै नाचिरहेको
आगोसित ।
पराजयको गीत फुक्छ त्यही बेला
एक हृदयहीन बतास
चिढाउँछन्
आफ्नै शरीरका अङ्गहरुले
जो खत्रक्कखत्रक्क कान खाने आवाजमा
खस्दैछन् उप्किएर
गाइँगुइँ सुनिन्छन् मान्छेका आवाज
जो रमिता हेर्दैछन् नजिक,
तर धेरै टाढा उभिएर—धेरै नजिकका मान्छेहरु
ढोकाबाहिरिँदै गरेको शुटकेसबाट
पोखिन्छ असन्तुष्टि र घृणा
त्यही बेला झल्किन्छ
आफैँले ठड्याएको घरको भित्री कुरा
आफ्नै मान्छेको भित्री कुरा ।
दनदन दनदन
दनदन दनदन ।।।
त्यहीमाथि खस्दैछन् सपनाका कत्लाहरु
जो हृदयमा गुँड बनाएर बस्थे
खस्तैछन् जिजीविषाका ससाना रौँहरु
जो छालामा टाँसिएर राज गर्थे
साहस,
बहादुरी,
हिम्मत, एक दृढसोच
रुपान्तरित हुँदैछन् भग्नावशेषमा
जीवन जियाइका दर्शन थिए ती ।
केही विलुप्त अस्तित्वहरुले
कहिल्यै बाहिर आउन पाउने छैनन् स्
जस्तो कि एउटा अलिखित इतिहास
जुन मधुर प्रेमकथाहरुले बनेको थियो
जस्तो कि देशको समृद्धिको गीत
जसले मनभित्र आकार बनाइरहेको थियो
पारिवारिक सुख,
केही जीतहरुले वचन दिइसकेका थिए
मस्तिष्कको ओढारमा छुपेको सौन्दर्य
जसलाई म देशको सम्पत्ति ठान्थेँ
हृदयको फाँटमा जमेको
सद्भावको एक समुद्र
जसलाई म भाइचाराको प्रतीक मान्थेँ ।
दनदन दनदन
दनदन दनदन ।।।
तर मलाई थाहा छ स्
अवश्य आउनेछ हावाको सानो झोक्का
र, छुनेछ खरानीमा परिणत
मेरो अस्तित्वलार्इ
सुस्तरी मायाले होस्
चाहे घृणाले, तर अवश्य छुनेछ ।
र, म खरानीबाट उठ्नेछु
खरानी भएर पनि
अवश्य उठ्नेछु म एकदिन ।
६ जुन, २०१६ केएसए