काठमाडौं, २९ पुस । दूरसञ्चार सेवाका लागि तारयुक्त प्रविधिबाट विश्व सन्जालमा जोडिन भारतको मात्रै भर पर्दै आएको नेपालले अब चिनियाँ बाटो प्रयोग गर्न सक्ने भएको छ।

indrenionlineयसैक्रममा नेपाल टेलिकमले केरुङ–गल्छी अप्टिकल फाइबर माघ महिनाभित्र व्यावसायिक रुपमा सञ्चालनमा ल्याउने भएको छ। केरुङतिरको केवलमा समस्या आएको र त्यसको मर्मत कार्य सम्पन्न नभएकाले अप्टिकल फाइबर अहिलेसम्म सञ्चालनमा आउन सकेको थिएन।

अप्टिकल फाइबरको व्यावसायिक रुपमा सञ्चालन गर्न सूचना तथा सञ्चार मन्त्रालयले नेपाल टेलिकमलाई लिखित पत्र पठाइसकेको जानकारी मन्त्रालयका सचिव महेन्द्रमान गुरुङले जानकारी दिए। नेपाल टेलिकमका प्रवक्ता शोभन अधिकारीका अनुसार केरुङतर्फ ठूलो मात्रामा हिउँ परेकाले काममा केही अवरोध भएको हो। तर, चिनियाँ पक्षले छिट्टै मर्मत गर्ने र व्यावसायिक सञ्चालन गर्ने प्रतिवद्धता जनाएका छन्।

रसुवागढी नाकाबाट काठमाडौं र बेइजिङ दुवैतर्फ ब्यान्डविथ आदानप्रदान गर्दा अप्टिकलको परीक्षण पनि सफल भएको थियो। सचिव गुरुङले भने, ‘ परीक्षण पनि गरिसकिएको र त्यसको परिणाम पनि सकारात्मक आएकाले अब धेरै काम बाँकी छैन।’

चीनबाट नेपाल जोडिएको यो अप्टिकल फाइवरको स्वामित्व नेपाल टेलिकम र चीनको सरकारी स्वामित्वको कम्पनी ‘चाइना टेलिकम्युनिकेसन कर्पोरेसन’बीच रहेको छ। यसका लागि दुवै मुलुकका प्राविधिक टोलीले फाइबर परीक्षण गरिसकेका छन्। यो सँगै दूरसञ्चार सेवामा भारतसँगको नेपालको परनिर्भरता तोडिने छ ।