काठमाडौं, २९ पुस । सरकारले संविधान संशोधन विधेयक संसदमा टेबुल गरेपछि अब कसरी अघि बढ्ने भन्नेबारेमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मधेसी मोर्चाका नेताहरुसँग छलफल थालेका छन् ।
विपक्षीहरुको विरोधका बाबजुद पनि संशोधन विधेयक संसदमा पेश गरिएपछि निर्वाचनमा जानेबारेमा छलफल गर्न प्रचण्डले मोर्चाका नेताहरुसँग छलफल गरेका हुन् । प्रधानमन्त्री निवास बालुवाटरमा शुक्रबार विहान ९ बजेपछि भएको बैठकमा संविधान संशोधन विधेयक र स्थानीय निर्वाचनबारेमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
मोर्चाका नेताहरुले भने संशोधन विधेयक टेबुल गरेकोमा प्रचण्डलाई धन्यवाद दिँदै अब परिमार्जन सहित पारित हुनुपर्ने बताएका छन् । परिमार्जन सहित संशोधन विधेयक पारित नभएमा निर्वाचन हुन नसक्ने मोर्चाका नेताहरुले चेतावनी दिएका छन् ।
प्रधानमन्त्री प्रचण्डले भने संशोधन विधेयक पारित गर्न मोर्चालाई पनि पहल गर्न आग्रह गरेका छन् । उनले विधेयक पारित गराउन पहल गरी निर्वाचनको मिति घोषणा गरेर निर्वाचनमा जानेबारमा मोर्चाका नेताहरुसँग सुझाव मागेका छन् ।