महोत्तरी, २६ पुस । धुर्मुस–सुन्तली फाउण्डेशनले तेस्रो एकीकृत नमूना बस्तीको शिलान्यास गरेको छ । फाउण्डेशनले सोमवार भव्य समारोहकाबीच महोत्तरी, बर्दिवास नगरपालिका–२ स्थित मुसहर बस्तीमा नमुना बस्तीको शिलान्यास गरेको हो ।
हास्य कलाकारद्वय हरिवंश आचार्य र मदनकृष्ण श्रेष्ठ (मह जोडी) र गङ्गासागर सरसफाईका अभियन्ता रामअशिष यादवले संयुक्त रूपमा बस्तीको शिलान्यास गरेका थिए।
बस्ती शिलान्यास कार्यक्रममा हास्य कलाकारहरू मनोज गजुरेल, किरण केसी, जितु नेपाल, सुरेन्द्र केसी, शिवशङ्कर रिजाल, राजाराजेन्द्र पोखरेल, अर्जुन घिमिरे, कुमार कट्टेल, गायिका माण्डवी त्रिपाठी पनि सहभागी थिए ।
बस्ती शिलान्यास कार्यक्रम बोल्दै हरिवंश आचार्यले सीताराम कट्टेले नेपाल आमाको सपुत भएको बताए । ‘यो भन्दाअघि सिताराम कुञ्जनाको जोडीले पहाडमा खुसी छाउने काम गर्यो’ उनी भन्छन् ‘अहिले मुसहर बस्तीमा उज्यालो छर्दै छन्, यो सङ्गै सिङ्गै देशमा खुशी छरुन् ।’
त्यस्तै मदनकृष्ण श्रेष्ठले धुर्मुस सुन्तलीले राजनीतिक दलहरुलाई चुनौती दिएको प्रतिक्रिया दिँदै उनी भन्छन् ‘पदमा बसेकाहरूले काम गरिदिएको भए देश यस्तो हुँदैनथ्यो’ ।
४ करोड ७८ लाख लागतमा निर्माण हुने उत्त बस्ती अपाङ्ग मैत्री, बाल मैत्री हुनेछ । नमुना बस्तीमा ५० ओटा घर एक सामुदायिक भवन, एक बाल उद्यान र एक मन्दिर समेत निर्माण गर्ने सिताराम कटट्ल धुर्मुसले जानकारी दिए ।
