भरतपुर-  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसदको गतिरोध अन्त्यसँगै स्थानीय निर्वाचनको ढोका खुलेको बताएका छन् । आज बिहान पूर्वी चितवनको बीरेन्द्रनगरमा स्थापित जनयुद्धका सहिद तथा बेपत्ता योद्धाहरुको स्तम्भ अनावरण गर्दै प्रधानमन्त्रीले उक्त कुरा बताएका हुन् ।

prachanda-1-1-1-3कार्यक्रममा बोल्दै प्रधानमन्त्रीले भने, ‘हिजोबाट संसदको गतिरोध हटेको छ। हामीले असहमतिका बीच प्रक्रियामा सहमति खोजेका छौ। निर्वाचनसँग सम्बन्धित विद्येयक संसदमा अघि बढिसकेका छन्। अब स्थानीय निर्वाचनको ढोका खुलेको छ। सरकारले बैशाखमा निर्वाचन गर्ने गरी निर्वाचनको मिति घोषणा गर्नेछ। अब देश निर्वाचनमा अघि बढ्यो।’

राजनीतिक विषयमा बोल्दै प्रधानमन्त्रीले भने, ‘हामीले संविधान जारी गर्नुपूर्व नै संशोधनको प्रतिवद्दता जाहेर गरेका थियौ। हाम्रो संविधान एक गतिशील दस्तावेज हो। संविधानको स्वीकार्यता बढाएर देशलाई एकतावद्ध गर्नु र आर्थिक समृद्धिको आधार तयार गर्नु सरकारको प्राथमिकता हो। त्यसका लागि सरकार क्रियाशील छ।’

चितवन विकास र राजनीतिको केन्द्र रहेकोमा जोड दिँदै प्रधानमन्त्रीले भन्नुभयो, ‘चितवन राजनीतिक परिवर्तन र विकासका दृष्टिले केन्द्र रहँदै आएको छ। मैले छिटै चितवनको समग्र विकासको प्योकज ल्याउँदैछु। अब राजनीतिक विवादले आर्थिक समृद्धि ओझेलमा पर्नु हुँदैन। अबको युग विकास र समृद्धिको युग हो। यसलाई गहिरो आत्मसात गरि आर्थिक समृद्धिमा सबैको सहकार्य जरुरी छ।’