कास्की, २२ पुस । प्राकृतिक स्रोत पानी र वन पैदावारबाट उत्पादित ऊर्जाको विकल्पमा बायोग्यास जडान गरी नवीकरणीय ऊर्जालाई प्राथमिकतामा राख्नुपर्ने बताइएको छ। विहीबार पोखरामा व्यवसायिक बायोग्यास प्लान्ट विषयक क्षेत्रीय गोष्ठीमा सहभागीहरुले ऊर्जाको भरपर्दो विकल्पमा बायोग्यास पनि हुनसक्ने धारणा राखेका हुन्।

baioवातावरण मन्त्रालय, वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्र, नवीकरणीय ऊर्जा विस्तार कार्यक्रमको आयोजना एवम् जिविस, कास्कीको व्यवस्थापनमा कार्यक्रम आयोजना भएको थियो।

व्यावसायिक पशुपालन फार्मबाट उत्पादित दूधजन्य पदार्थ, मासु, अन्डा बिक्रीबाट मात्र भन्दा मलमूत्र र कुहिने फोहरबाट बायोग्यास एवम् कम्पोस्ट उत्पादन गरेर आत्मनिर्भर हुनुका साथै मल बिक्री गरेर मनग्य आम्दानी गर्न सकिने नवीकरणीय ऊर्जा प्रवद्र्धन केन्द्रका विकुल श्रेष्ठले बताए।

‘बायोग्यास जडान गरेपछि ऊर्जामा आत्मनिर्भरता, इन्धन खर्चको बचत हुनुका साथै फोहर व्यवस्थापन, स्वस्थ जीवन र समयको बचत एवम् वातावरण तथा वन संरक्षणमा महत्वपूर्ण सहयोग पुग्छ,’ उनले भने।

स्थानीय विकास अधिकारी बलराम ढकालले युएनडिपीको आर्थिक सहयोगमा नेपाल सरकारद्वारा सञ्चालित नवीकरणीय ऊर्जा कार्यक्रमबाट फार्म सञ्चालकले फाइदा लिनुपर्ने बताए।

सामुदायिक वन उपभोक्ता महासङ्घ कास्कीका अध्यक्ष कालीदास सुवेदीले बायोग्यास निर्माणले कार्बन सञ्चितिमा सहयोग पुग्ने बताउँदै दाउराको प्रयोग घटाउँदा वनको संरक्षण र सम्वद्र्धन एवम् वातावरणीय सुधारमा सहयोग पुगेको धारणा राखे।

वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रका अनुप ढकालले बढ्दो औद्योगिकीकरणसँगै ऊर्जाको आवश्यकता दिन प्रतिदिन बढिरहेको अवस्थामा नवीकरणीय ऊर्जा बहुउपयोगी बन्ने बताए।

गोष्ठीमा कास्की जिल्लाका पशु, कृषि एवम् तरकारी व्यवसाय फर्म दर्ता गरी सञ्चालन गर्दै आएका सञ्चालकको सहभागिता थियो। रासस