झापा, १९ पुस। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले झापाको बनियानीमा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गतको ९धान खेती० सुपर जोन कार्यक्रमको उद्घाटन गर्नुभएको छ । कृषिलाई आधुनिकीकरण, व्यवसायीकरण र बजारीकरण गर्ने उद्देश्यअनुरुप सरकारले सातै प्रदेशमा सुपर जोन कार्यक्रम सञ्चालन गरेको हो ।
कार्यक्रमको उद्घाटन गर्दै प्रधानमन्त्रीले भन्नुभयो, ‘केही वर्ष अघिसम्म हामी घन्नबालीमा आत्मनिर्भर थियौं । नेपाल कृषिप्रधान देश हो भनेर पढ्यौं, पढायौं । तर, अहिले कृषिको उत्पादकत्व उत्साहजनक छैन । यो सुपर जोन कार्यक्रमले यसलाई बदल्नुपर्छ, बदल्नेछ । जमिनको चक्लाबन्दी, कृषिको आधुनिकीकरण, विविधिकरण, आधुनिक प्रविधिको प्रयोग, बजारीकरण प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको लक्ष्य हो । फगत औपचारिकताका लागि होइन, कृषि क्षेत्रमा क्रान्ति ल्याउने गरी काम गर्न विशेष अपील गर्न चाहन्छु । यो कार्यक्रमले कृषि क्रान्तिमा महत्वपूर्ण योगदान दिन सक्नुपर्छ ।’
प्रधानमन्त्रीले थप्नुभयो, ‘यस वर्ष धानीमा उत्पादन बढेको छ । तर, उत्पादकत्व बृद्धिमा हाम्रो योजनावद्ध प्रयास भन्दा पनि मौसमी अनुकूलता मूख्य रुपमा जिम्मेवार छ । यसरी सधै चल्दैन, हामीले योजनावद्ध रुपमा विकास गर्न सक्नुपर्छ । यसका लागि हाम्रो संकल्प जरुरी छ ।’
सामयिक राजनीतिबारे बोल्दै प्रधानमन्त्रीले भन्नुभयो, ‘हामी सत्ता पक्ष र प्रतिपक्षी मिलेर यहाँ आएका छौं । राजनीतिक सहमतिको माध्यमबाट अघि बढ्न यसले प्रेरणा दिन्छ, दिनुपर्छ । सरकार संविधान संशोधनमार्फत् संविधान कार्यान्वयनको बाटो खोल्न चाहन्छ । अब संसद खोलेर निर्वाचनमा जानुपर्छ । राम्रोलाई राम्रो भन्ने संस्कारको विकास गर्न सक्यौं भने देशले राजनीतिक स्थिरता र आर्थिक समृद्धिको बाटो लिन्छ, हामी सबैले त्यसैका लागि साझा संकल्प गरौं ।’
