तेह्रथुम- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तेह्रथुम जिल्लाको संक्रान्ति बजारका आगलागी पीडितहरुको पूनर्बासका लागि एक करोड रुपैयाँ उपलब्ध गराउने घोषणा गरेका छन् । आज आगलागी भएको स्थानको निरीक्षणपछि बोल्दै प्रधानमन्त्रीले उक्त घोषणा गरेका हुन्।
प्रधानमन्त्रीले भने, ‘आगलागीले बजार ध्वस्त भएको छ, तपाईहरु घरबारबिहीन हुनुभएको छ । प्रधानमन्त्रीको नेतृत्वमा रहेको केन्द्रीय दैवीप्रकोप कोषबाट संक्रान्ति बजारका अग्निपीडितका लागि एक करोड रुपैयाँ उपलब्ध गराउने घोषणा गर्दछु ।
संक्रान्ति बजारमा दमकलको व्यवस्था गर्नेछु, खानेपानी समस्या समाधानका खानेपानी आयोजना सञ्चालन गर्ने, बजारको पूनस्र्थापना र व्यवसाय सञ्चालनका लागि बिना धितो सहुलियत ऋण उपलब्ध गराउने, संक्रान्ति बजारमा नेपाल बैंक, कृषि विकास बैंकको शाखा कार्यालय स्थापना गर्ने, एम्बुलेन्सको व्यवस्था गर्ने कुरा पनि म यहाँहरुको बीचमा अवगत गराउँछु ।’
प्रधानमन्त्रीले भने, ‘सानो भएपनि संक्रान्ति बजार ऐतिहासिक महत्व बोकेको ठाउँ हो । यहाँ आगलानीले ३२ घर र ५६ परिवारमा क्षति भएको छ । यसको आफ्नै ऐतिहासिक छ । यसको पूनर्निर्माण सरकारको प्राथमिकतामा छ । म तपाईहरुसँग दुख र भावना साट्न यहाँ आएको छु । तेह्रथुम नेपालको राजनीति र सत्तामा स्थापित नेताहरु जन्मिएको ठाउँ हो । यसले मलाई थप जिम्मेवारी महशुस भएको छ ।’
संकटका बेला एकतावद्ध हुने नेपाली संस्कार भएको भन्दै प्रधानमन्त्रीले भने, ‘१२ बुंदेबाट सुरु भएको सहकार्यको यात्रा अहिले पनि जारी छ । हामी मिलेर मात्रै ठूलठूला सङ्कट समाधान गरेका छौं । अहिले हामी संविधान कार्यान्वयनको चरणमा छौं, त्यसका लागि संसदको गतिरोध हट्न जरुरी छ ।
मलाई विश्वास छ, राजनीतिक गतिरोध सम्वादकै माध्यमबाट समाधान गर्नेछौं । हामी छिटै राजनीतिक गतिरोध चिरेर संविधान कार्यान्वयनका लागि निर्वाचनमा जानेछौं ।’
निर्देशनपूर्व प्रधानमन्त्रीले संक्रान्ति बजारको आगलागी स्थलको निरीक्षण गरेका थिए । निरीक्षणपछि प्रधानमन्त्रीसहित जिल्लाका सांसद र जिल्ला दैवीप्रकोप उद्दार समितिका सदस्यहरुको बैठकले क्षतिग्रस्त ३२ घर र ५६ परिवारका लागि एक करोड रुपैयाँ उपलब्ध गराउने निर्णय पनि गरेको छ ।