झापा, १९ पुस । तत्कालिन प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली भूमिमा रेल गुडाउछु भन्दा उनी हाँसोका पात्र बनेका थिए । कतिले त उनलाई हावादारी प्रधानमन्त्रीको पनि संज्ञा दिएका थिए । तर अहिले पूर्व–पश्चिम रेलमार्ग विस्तृत सर्वेक्षण झापादेखि मोरङसम्म शुरु भएको छ ।
राष्ट्रिय गौरवको आयोजनाको रूपमा रहेको रेलमार्ग सुनसरीको इनरुवादेखि काकडभिट्टासम्मको खण्डमा दुई कोरियाली र एक नेपाली कम्पनीलेसर्वेक्षण शुरु गरेका हुन् ।
सर्वेक्षण टोलीका इञ्जिनियर नवराज भण्डारीका अनुसार २७ जना प्राविधिकहकरुले इनरुवादेखि काकडभिट्टासम्मको १०५ किलोमिटर र इटहरीदेखि बिराटनगरसम्मको २० किलोमिटरमा सर्वेक्षणको काम भइरहेको छ ।
झापामा समेत ५÷५ किलोमिटरमा स्तम्भ राखिएको छ । इटहरी–बिराटनगर खण्डमा पनि लिङ्क लाइनको काम भइरहेको उनले जानकारी दिए । पूर्वमा प्राविधिकहरुका विभिन्न ७ वटा समूहले सर्वेक्षण गरिरहेको छ ।
रेल विभागले तयार गरेको आधारमा सर्वेटोलीले सतह मापनदेखि बेन्च मार्क र कन्ट्रोल प्वाइन्ट स्थापना लगायत प्राविधिक काम गरिरहेको बताइएको छ । पूर्व-पश्चिम राजमार्गबाट करिब ३ किलोमिटर दक्षिणबाट रेलमार्ग बिस्तार हुने गरी सर्वेक्षणको काम भइरहेको प्राविधिकहरुले बताएका छन् ।
