इलाम, १६ पुस । पूर्वसभामुख सुवासचन्द्र नेम्वाङले संविधान कार्यान्वयनका लागि मुख्य तीन दल मिल्नुको कुनै विकल्प नरहेको बताए ।
शनिबार इलामको महमाई गाविसको गाउँ परिषदको उद्घाटन गर्दै नेता नेम्वाङले संविधान जारी गर्दा जसरी तीन दल मिलेर हस्ताक्षर गरेका थिए त्यसरी नै अहिले मिल्नुको विकल्प नभएको बताए।
‘काङ्ग्रेस, एमाले र माओवादी केन्द्र जसरी संविधान जारी गर्दा एक थिए, त्यसरीनै अहिले पनि मिल्ने परिस्थिति आएको छ, अब एकताबद्ध भएर अघि बढ्नुपर्छ’ नेता नेम्वाङले भने । मुख्य दल मिलेर स्थानीय निकाय, प्रदेश र राज्यको निर्वाचन सम्पन्न गर्न जनताले दबाब श्रृजना गर्नुपर्नेमा उहाँले जोड दिए ।
