काठमाडौँ, १६ पुस । आगामी आइतबारदेखि भारतबाट थप ४० मेगावाट विद्युत् आउने भएको छ । नेपालले भारतबाट हाल आयात भइरहेको ८० मेगावाटका अतिरिक्त ४० मेगावाट समेत गरी १२० मेगावाट विद्युत् ढल्केबर(मुजफ्फरपुर ४०० केभी प्रसारण लाइनबाट आयात गर्ने भएको हो ।
शुक्रवार साँझ ऊर्जामन्त्री जनार्दन शर्मा तथा भारतीय ऊर्जा राज्यमन्त्री पियूष गोयलबीच भएको टेलिफोन वार्तामार्फत विद्युत् आयात गर्ने कुरा तय भएको ऊर्जा मन्त्रालयका प्रवक्ता दिनेश घिमिरेले बताए ।
यस्तै आगामी माघ १७ गतेदेखि सोही प्रसारण लाइनबाट थप ४० मेगावाट विद्युत् समेत आयात गरिनेछ । टेलिफोन वार्तामा टनकपुर विन्दुबाट समेत थप १५ मेगावाट आयात गरिने सहमति भएको छ । प्रसारण लाइन मर्मतसम्भारका लागि इआरएस टावर भारतबाट खरिद गरिने सहमति भएको प्रवक्ता घिमिरेले बताए ।
सहमतिअनुरुपको बिजुली आयातपछि नेपालले भारतबाट आयात गर्ने विद्युत्को परिमाण करिब तीन सय ८० मेगावाट पुग्नेछ ।
