बागलुङ, १४ पुस । शिक्षा मन्त्रालयले विद्यालयमा विदेशी गीत, सङ्गीत र नृत्यलाई रोक लगाएको छ । विद्यालयमा सञ्चालन हुने कुनै पनि कार्यक्रममा नेपाली लोक संस्कृति, राष्ट्रियता झल्कने गीत सङ्गीत र नृत्य मात्र समावेश गर्न पाइनेछ ।

hote-cसांस्कृतिक कार्यक्रम, समारोह, भेलाजस्ता कार्यक्रममा विदेशी गीतसङ्गीत र नृत्यलाई रोक लगाइएको शिक्षा विभाग, सह–क्रियाकलाप तथा समसामयिक शिक्षा शाखाले जनाएको छ ।

शाखाले नयाँ व्यवस्था कार्यान्वयन गर्न हालैमात्र देशभरका जिल्ला शिक्षा कार्यालयलाई परिपत्र गरेको छ । विदेशी संस्कृतिको अनुचित प्रभावलाई रोक्न यस्तो निर्णय गरिएको शाखाका उपनिर्देशक प्रमोदकुमार शर्माले बताए । ‘भाषा, साहित्य, कलामा हामी धनी छौँ’, उपनिर्देशक शर्माले भने, ‘हाम्रै संस्कृतिको प्रवद्र्धन गर्नुपर्छ, विद्यार्थीलाई त्यसैतर्फ प्रेरित गर्नुपर्छ ।’

शाखाले गरेको परिपत्रमा विद्यालयमा विदेशी सङ्गीतलाई पूर्ण रुपमा रोक लगाउन भनिएको छ । शिक्षाको राष्ट्रिय उद्देश्यमा पनि नेपाली कला, सौन्दर्य, आदर्श र वैशिष्ट्यहरुको संरक्षण, संवद्र्धन र विस्तारतर्फ अभिप्रेरित नागरिक तयार गर्न मद्दत गर्ने उल्लेख छ । मन्त्रालयको निर्देशनलाई अटेर गरिएको पाइएमा त्यस्ता विद्यालयलाई कारवाही गर्ने मन्त्रालयले जनाएको छ ।