काठमाडौं, १४ पुस। दोलखाका सांसदहरुले माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको शेयर मोडालिटी परिवर्तन हुन नसक्ने बताएका छन् ।

tamakoshiदोलखाका सांसदहरु पशुपति चौलगाईं, आनन्दप्रसाद पोखरेल र पार्वत गुरुङले आज राजधानीमा संयुक्त रुपमा पत्रकार सम्मेलनको आयोजना गरी स्वदेशी लगानीमा निर्माणाधिन माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको शेयरसम्बन्धी हकदार सर्वसाधारण नागरिक रहेको हुँदा त्यसको मोडालिडी परिवर्तन हुन नसक्ने दाबी गरेका हुन् ।

दुई साताअघि प्रधानमन्त्री पुष्पकमल दाहालले सो आयोजनाको स्थलगत भ्रमण गरेपछि आयोजनाको ११ अर्ब बराबरको शेयर माओवादी पूर्व लडाकु, अति विपन्न तथा सहिद र बेपत्ता परिवारलाई वितरण गर्ने तयारी भै रहेको बताएको भएको भन्दै तीन सांसदले आपत्ति प्रकट गरेका हुन् ।

पूर्वमन्त्री तथा दोलखा क्षेत्र नं २ का सांसद आनन्दप्रसाद पोखरेलले आयोजना बन्न नदिने षड्यन्त्र भइरहेको आशङ्का व्यक्त गर्दै आयोजना निर्माणका क्रममा बनेका शेयरसम्बन्धी संरचना परिवर्तन हुनै नसक्ने बताए । उनले कुनै पनि वित्तीय ऐन, नियम र कानूनले आयोजनाको शेयरसम्बन्धी अवधारणा परिवर्तन गर्न नसक्ने उल्लेख गर्दै आयोजना बिथोल्ने गरी द्वन्द्वको विजारोपण गर्न लागेको आरोप पनि लगाए । ऐन, नियम, कानून कुनै पनि दृष्टिले आयोजनाको शेयर कसैलाई पनि दिन नमिल्ने विज्ञहरुको भनाइ छ ।

तीन सांसदले संयुक्त रुपमा जारी गरेको प्रेस विज्ञप्तिमा तामाकोसी जलविद्युत् आयोजनाको शेयरसम्बन्धी अवधारणालाई गलत ढङ्गले बुझाउन माओवादी नेतृत्वको सरकार लागिपरेकाले त्यस्तो हर्कत सफल हुन नदिन सबैमा आग्रह गरिएको छ ।

माथिल्लो तामाकोसी जलविद्युत् आयोजना स्वदेशी लगानीमै निर्माणाधिन ४ सय ५६ मेगावाटको मुलुकको सबैभन्दा ठूलो र पहिलो आयोजना हो । नेपाल विद्युत् प्राधिकरण, कर्मचारी सञ्जय कोष, नेपाल टेलिकम, राष्ट्रिय बीमा संस्थान, दोलखाली जनताको १० र सर्वसाधारण नागरिकको १५ प्रतिशत शेयरमा यो आयोजनाको वित्तीय व्यवस्थापन गरिएको छ ।

भूकम्प र त्यसपछिको नाकाबन्दीका कारण आयोजनाको निर्माण कार्यमा केही ढिलाइ भए पनि २०७५ सालभित्र यो आयोजना सम्पन्न गरिसक्ने लक्ष्य राखिएको छ । आयोजना निर्माण गरिसक्दा यस्तो लागत खर्च रू। ५७ अर्ब पुग्ने आयोजनाले अनुमान पनि गरेको छ । रासस