काठमाडौं, १३ पुस । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेको अवरोधका कारण आजको सांसद बैठक पनि स्थगित भएको छ । संविधान संशोधन विधेयक फिर्ता वा स्थगनको माग गर्दै एमालेसहितका प्रतिपक्षमा रहेका दलहरुको अवरोधका कारण बैठक स्थगित भएको हो ।
बैठकमा शुरुमै एमालेसहित प्रतिपक्ष दलका नेताहरु उभिएर विरोध गरेपनि सभामुख ओनसरी घर्तीले बैठक स्थगित भएको घोषणा गरेकी हुन् ।
बैठकको सुरुमा बोल्दै नेपाल परिवार दलका सांसद एकनाथ ढकालले संशोधन विधेयक गैरसंवैधानिक, राष्ट्रियता विपरीत अदृश्य शक्तिको बलमा ल्याइएको आरोप लगाउँदै फिर्ता नलिइञ्जेलसम्म सदन चल्न नदिने बताए ।
सभामुख ओनसरी घर्तीमगरले पटक पटक आसन ग्रहणका लागि आग्रह गरिन् । उनले दलहरुबीच सहमतिको लागि आफूले समय दिएको स्मरण गरिन् । संशोधन विधेयकको कार्यसूचि अगाडि बढाउन अनुरोध गर्दै सभामुख घर्तीले विधेयक पारित वा अस्वीकार गर्ने अधिकार भएको पनि बताइन् । बैठक भोलि बिहीबार १ बजेसम्मका लागि संसद बैठक स्थगित भएको घोषणा गरिन् ।











