kiria

दिपक बोहरा , तुलसीपुर १३ पुस ।  एकसरो सेतो वस्त्र धारण गरेका एउटा ११ र अर्को १४ बर्षका दुई कलिला बालक  । हिन्दु परम्परा अनुसार किरिया बसेका । धर्मको भाषामा तस्बिर सामान्य लागे पनि मानवताको हिसाबले तस्बिर कारुणिक, बाध्यकारी र हृदयविदारक लाग्छ । यो दृश्य दाङ तुलसीपुर १ राणा गाउँको हो ।

सानासाना छोराहरु  बुवाको किरियाको लागि कष्टका साथ बसेको देख्दा त्यहा पुग्ने जोसुकै भक्कानिने अवस्था छ ।  क्यानसर पिडित बिरबहादुर खत्रीको ३५ बर्षको उमेरमा मृत्यु भएपछि उनका  दुई छोरा बाबुको  किरिया बसेका छन् । गुरुजजुर उच्च माद्यायामिक बिद्यालय कक्षा ९ मा अध्ययनरत सन्तोष खत्री र कक्षा ५ मा अध्ययनरत केशब खत्री आमा सितला खत्री संग उनीहरु किरिया बसिरहेका छन् ।

श्रीमानको निधनको पीडामा रहेकी सितला खत्री कलिला छोराहरु किरिया बसेको देख्दा झनै पिडित छन् ।   तर परम्परा र संस्कार मान्नै पर्नै अनि धान्नैपर्ने । सितला खत्रीलाई  यो भन्दापनि अर्कौ झनै ठूलो चिन्ता छ । श्रीमानको उपचारमा लागेको  ऋण अब कसरी तिर्ने ? अब घर खर्च कसरी चलाउने ?  छोराहरुलाई कसरी पढाउने ? यस्तै पिडाले उनलाई पिरोलिरहेको छ । उनले भावुक हुँदै भनिन, ‘घरको कमाउने मान्छेलाई कुन पापीको आँखा लाग्यो, अब म एक्ली महिलाले कसरी हुँर्काऊ यी कलिला बाबुहरुलाई ।’

बिगत ७ महिना देखि क्यान्सर पिडित श्रीमानको उपचारमा करिब २०÷२५ लाख खर्च भएको उनले बताईन् ।  उनले भनिन्,‘ जग्गा बेचेर ऋण तिरौ भनेपनि छैन, भाको एउटा घर छ, अरु केही छैन्, यी कलिला बालकको अनुहारले झनै पिडा दिएको छ ।’ सम्पत्तिको नाममा उनको गोटी खोलामा  जम्मा दुई कठ्ठा जमिन छ । त्यो पनि सडक भन्दा भित्र छ बिच्ने हो भने पनि त्यसले ऋण तिर्न नै पुग्दैन्’ सितालले भनिन् ।’

कहिल्यै बिदेश गएर, कहिल्यै अर्काको जग्गा अधिया लगाएर घर धन्दा चलाएका  बिरबहादुरको  मृत्यु पछि अब कसरी घर धन्दा चलाउने भन्ने पिडा आफुमा थुपारिएको उनले बताइन । उनले भनिन् ‘ छोराहरुलाई कापी, कलम , ड्रेस चाहियो । प्लस टु पढने भएपछि पढाई खर्च पनि बढि आउँछ रे ।’  छोरा सञ्तोष खत्रीले भने ‘ म  १४ बर्षको छु र भाई ११ वर्षको छ, त्यसैले  भाईको भबिष्य प्रतिको चिन्ता लाग्छ ।’ उनले रुदै भने  ‘ घरमा सुको पैशा छैन, घर खर्च कसरी चलाउने, पढ्नलाई पैंसा पनि छैन,हामी साना साना छौं काम गर्नपनि सक्दैनौ ।’

मलामिले कात्रो किनदिए

बिगत सात महिना देखि क्यानसर पिडित बिर बहादुर खत्रीको उपचारको क्रममा परिवारले ठुलो धन राशि खर्च गरिसकेको थियो । उनलाई आन्द्राको क्यान्सर थियो ।  उपचारमा सबै सम्पति सकिएपछि बिर बहादुरको लाश छोप्ने कात्रो किन्नसक्ने आर्थिक हैसित परिवारमा थिएन् ।

त्यसैले बिरबहादुरको  दाहसंस्कारका लागि  आवश्यक पर्ने सामग्रीको जोहो पनि समाजले आर्थिक संकलन गरेरै गरेको थियो ।  खत्री परिवारको आर्थिक अबस्था अत्यन्तै कम्जोर भएकोले दाहसंस्कार तथा काजकिरिया गर्न आवश्यक पर्ने लत्ता कपडालगायत अन्य सामग्री किन्ने पैसा नभएपछि मलामीहरुले आर्थिक संकलन गरी अन्तिम संस्कार गरेका हुन ।

सहयोगको अपिल
दुःख कति बेला कस्लाई पर्छ थाहा हुदैन्, जति बेला जस्लाई पनि पर्न सक्छ । मनबताको धर्म भनेकै एउटालांई दुःख पर्दा आफुले पनि दुःख महशुस गर्नु हो ।  त्यसैले अहिले भाबनात्मक दुखी तथा आर्थिक समस्यामा परेको सोही परिवारले अफुहरुलाई सक्दो सहयोग गर्न सबै सहयोगी मनहरुलाई अनुरोध पनि गरेका छन् ।

अहिले सम्म स्थानिय समदर्शी युवा क्लबको पहलमा  एक लाख ५० हजार बराबर आर्थिक सहयोग भएको छ ।  स्वदेश तथा बिदेशबाट सहयोग आउने क्रम जारी रहेको पीडित सितला खत्रीले बताईन् ।  सहयोगका लागि  सितलाको नाममा कुमारी बैंकमा रहेको खाता नंबर २७१७६२४५७४३९३०१५ मा सहयोग रकम जम्मा गरिदिन सबैलाई अपिल पनि गरेकी छिन् ।