इन्द्रेणी संवाददाता
दाङ (रामपुर), १२ पुस । दाङको रामपुरमा तरकारी भण्डारण तथा बजारघर निर्माण भएको छ । बजार घरको निर्माणसँगै रामपुरमा क्षेत्रका किसानहरुले तरकारीलाई घोराही बजारसम्म ल्याउनुपर्ने झन्झटबाट मुक्त भएका छन् ।

02तरकारी भण्डारण र बजार घर सञ्चालनमा आएपछि किसानले अब आफूले उत्पादन गरेको तरकारी आफ्नै खेतबारीबाटै बेच्न पाउने भएका छन् । नव चेतना कृषि तथा सहकारी संस्था रामपुरले निर्माण गरेको तरकारी भण्डारण तथा बजारघर करीव १५ लाख रुपैयाको लगानीमा निर्माण गरिएको संस्थाका अध्यक्ष ध्रुवराज पौडेलले जानकारी दिए ।

पौडेलका अनुसार साना तथा मझौला कृषक आयस्तर बृद्धि आयोजनाको पुरक अनुदान करिव २१ लाख र संस्थाको करिव ३९ लाख रुपैयाको लगानीमा तरकारी भण्डारण तथा बजारघर निर्माण गरिनुका साथै कृषकहरुलाई खनजोतका लागि ५ वटा पावर टेलर, स्प्रे टैकी, तरकारी संकलनका लागि क्यारेट, बिउबिजन लगायतका सामान दिइएको छ ।

रामपुर गाविसका मोतीपुर, पलासे, भट्टेटार, निमुरिया, सुर्केडागी, अदुवाबारी, साहीपुरका १२ वटा कृषि समूह सहकारीमा आवद्ध छन । २०७१ साल चैतबाट शुरु भएको परियोजना सम्पन्न भएको छ । निर्माण भएको तरकारी भण्डारण तथा बजारघरको आज एक औपचारिक कार्यक्रमको आयोजना गरी उदघाटन गरिएको छ ।

संस्थाका अध्यक्ष ध्रुवराज पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा परियोजनाका प्रमुख राजेन्द्रकुमार मिश्रको बजार घर र तरकारी भण्डारणको उद्घाटन गरेका हुन् ।