घोराही । पत्रकार एवं साहित्यकार सविन प्रियासनले आफूले प्रकाशन गरेको उपन्यास पुनरागमनको बिक्रीबाट बनाउन लागि रहेको शैक्षिक कोषका लागि घोराही निवासी रबिन केसीले २५ हजार सहयोग गर्नु भएको छ ।
प्रियासनले पुस्तक बिक्री एवं शुभेच्छुकहरुको सहयोगबाट असहाय बालबालिकालाई पढाउनका लागि ५ लाख बराबरको अक्षयकोष निर्माण गर्ने घोषणा गर्नु भएको छ ।
साहित्यकार प्रियासनले असहाय, अशक्त बालबालिकालाई उच्चशिक्षासम्म अध्ययन गराउने उद्देश्यले निर्माण गर्न लागिएको शैक्षिक अक्षयकोष सकारात्मक भएको भन्दै केसीले अहिलेलाई २५ हजार सहयोग गरेको र प्रभावकारी भएमा यसमा थप रकम सहयोग गर्ने बताउनुभयो । प्रियासनले प्रकाशन गरेको पुनरागमन उपन्यास हाल बजारमा बिक्रीमा छ ।
प्रियासनका अनुसार पुस्तक बिक्रीबाट रकम संकलन हुनेक्रम जारी छ । प्रियासनले यसका लागि जिल्लाका कलेज, विद्यालय एवं सामाजिक संघसंस्थाहरुमा विशेष कार्यक्रमहरु गरिरहनु भएको छ । हालसम्म १ लाखको हाराहारीमा रकम संकलन भइसकेको प्रियासनले जानकारी दिनुभयो ।
