काठमाडौं, ४ पुस । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र मंगोलियाका परराष्ट्र मन्त्री सेण्ड मुङ्क अर्गिलबीच भेट भएको छ । आज प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा नेपाल र मंगोलियाबीच आपसी सम्बन्ध सुदृढ गर्नेबारे कुराकानी भएको थियो ।

mangolia-848x478भेटमा प्रधानमन्त्री प्रचण्डले नेपाल संविधान कार्यान्वयन गर्दै समृद्धि हासिल गर्ने दिशामा अगाडि बढिरहेको जानकारी दिँदै नेपालको आर्थिक, सामाजिक विकासमा मंगोलियाले खेलेको भूमिकाका लागि धन्यवाद दिए । सो अवसरमा प्रधानमन्त्रीले लुम्बिनीको विकासका लागि मंगोलियाले देखाएको चासोप्रति धन्यवाद दिँदै नेपाल सरकारको तर्फबाट आवश्यक सहयोग र समन्वय हुने जानकारी दिए ।

भेटमा मंगोलियाका परराष्ट्र मन्त्री अर्गिलले दुई देशको सहकार्य र साझेदारीमा विकासका धेरै काम गर्न सकिने बताउँदै लुम्बिनी लगायत नेपालका महत्वपूर्ण धार्मिक एवं पर्यटकीय क्षेत्रको विकासमा मंगोलियाको सहयोग रहने बताए ।

सो अवसरमा नेपाल र मंगोलियाबीच कुटनीतिज्ञ र सरकारी अधिकारीहरुका लागि निशूल्क भिसासम्बन्धि सम्झौतामा हस्ताक्षर भएको छ । सम्झौतामा नेपाल सरकारको तर्फबाट परराष्ट्र मन्त्री डा. प्रकाशशरण महत र मंगोलियाका तर्फबाट परराष्ट्र मन्त्री अर्गिलले हस्ताक्षर गरेका छन् ।