काठमाडौं, १ पुस । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा र नयाँ शक्ति पार्टी संविधान संशोधनका लागि संयुक्त रूपमा निर्णायक आन्दोलन गर्नेमा सहमत भएका छन् ।

upendra-baburamनयाँ शक्तिका नेता डा. केशवमान शाक्यको बबरमहलस्थित निवासमा हिजो मधेसी मोर्चा र नयाँ शक्तिबीचको बैठकले संविधान संशोधनका लागि संयुक्त आन्दोलन गर्नुपर्ने निष्कर्षमा पुगेका हुन् ।

बैठकमा सहभागी राष्ट्रिय मधेस समाजवादी पार्टीका महासचिव केशव झाले संविधान संशोधन गरी मधेसी, आदिवासी जनजातिको माग सम्बोधन गर्न सरकारसहित प्रमुख दलको पहल एवं प्रयास सकारात्मक नभएको निष्कर्ष निकाल्दै संयुक्त रूपमै निर्णायक आन्दोलन गर्ने सहमति भएको जानकारी दिए ।

नयाँ शक्ति अध्यक्ष डा. बाबुराम भट्टराईले अचानक मोर्चाका नेतालाई फोन गरी बैठक बोलाएका हुन् । बैठकमा पछिल्लो राजनीतिक अवस्थाबारे विश्लेषण गर्दै भट्टराईले सरकारका साथै प्रमुख तीन दलले संविधान संशोधन गरी मधेसी, आदिवासी जनजातिको माग सम्बोधन गर्न सकारात्मक नदेखिएकाले ‘संयुक्त रूपमै मधेसदेखि पहाडसम्म निर्णायक आन्दोलन गर्नुपर्ने प्रस्ताव गरेको’ नयाँ शक्तिका नेता केशव दाहालले बताए ।