दीपबहादुर घर्ती
जाजरकोट, २६ मंसिर । जिल्लामा रहेको हुलाक बैंक बचत रकम जम्मा गर्नेमा देश भरिकै हुलाक बैंक मध्ये दोश्रो स्थानमा रहेको छ । खाता जम्मा बचत रकम ६ करोड ९३ लाख रुपैया जम्मा गरेर देश भरिकै हुलाक बैंकहरुमा दोश्रो हुन सफल भएको हो ।
जिल्लाको हुलाक कार्यालयवाट प्रवाह गरिने नागरिक सेवाहरुमा हुलाक बैंक निकै लोक प्रिय बन्दै गएको हुलाक अधिकृत देबेन्द्रबहादुर काकीले वताए । धनादेश कार्यालयवाट सञ्चालन हुने हुलाक बैंकहरुमा भण्डै १३ करोड रुपैया खातामा बचत रकम जम्मा गरेर देश कै पहिलो नमुना हुलाक बैंकमा गोश्वारा हुलाक कार्यालय सुनधारा काठमाण्डौं रहेको अधिकृत कार्कीले जानकारी दिए ।
२०६१ पुस १२ गते देखि सञ्चालनमा आएको जिल्ला हुलाक बैंकमा हाल सम्म भण्डै ३२ सय नागरिकहरुले खाता खोलेको अधिकृत कार्कीले वताए । हुलाक बैंक स्थापना देखि हाल सम्म खोलिएका ३२ सय बचत खाताहरु मध्ये १ सय ५० खाता अपलेखनमा परेको, ५० खाता बन्द भएको र ३ हजार खाताहरु सञ्चालनमै रहेको अधिकृत कार्कीले जानकारी दिए ।
हुलाक बैंकले जेष्ठ नागरिक बचत खातामा ४ प्रतिशत र साधारण बचत खातामा ३ प्रतिशत ब्याज दिदै आएको छ भने, लगानी क वर्गका प्रतिस्पर्दामा आएका ठुला बैंक र हुलाक कार्यालयमा कार्यरत स्थायी कर्मचारीहरुमा गर्दै आएको छ ।
हाल कर्मचारीलाई ८ प्रतिशतमा र ठुला बैंकहरुलाई ६।२५ प्रतिशत ब्याज दरमा ऋण प्रवाह गरिएको अधिकृत कार्कीले जानकारी दिए । उनले हाल सिटिजन बैंकमा २ करोड ५० लाख, माछापुच्छे बैंकमा ६३ लाख, एनसिसी बैंकमा ९३ लाख र कर्मचारीहरुमा २० लाख रुपैया ऋण प्रवाह भई रहेको जानकारी दिए ।
स्थापना काल देखि २०७०÷०७१ सम्म नेपाल बैंक लिमिटेडलाई प्रवाह गरिएको ऋणको नेबैलीले ब्याज नदिएपछि जिल्ला हुलाक बैंक झण्डै ९० लाख बराबारको ब्याज घाटामा गएको अधिकृत कार्कीले वताए । हाल लगानी गरिएका बैंकवाट प्राप्त ब्याजदरवाट हुलाक बैंक नाफामा रहेको कार्कीको भनाई रहेको छ ।