काठमाडौं- नेकपा एमालेले संविधान संशोधनको विरुद्धमा चलाएको आन्दोलन अतिवादी, विखण्डानकारी र उग्रवादी भएको मधेसी मोर्चाले ठहर गरेको छ ।

morcha_meeting-650x326-624x313आज तराई मधेस लोकतान्त्रिक पार्टीको केन्द्रीय कार्यालयमा बसेको मोर्चाको बैठकले एमालेले चलाएको आन्दोलनलाई प्रतिक्रियावादीहरुले उत्पीडित जनतालाई अधिकार नदिनका लागि चलाइएको वितण्डाको संज्ञा समेत दिएको छ ।

बैठकले एमालेको आन्दोलनलाई शोषक वर्गले उत्पीडित जनताको विरुद्धमा चलाएको वितण्डा भएको निष्कर्ष निकाल्दै त्यसको निन्दा गर्ने निर्णय गरेको बैठकपछि जारी विज्ञप्तिमा उल्लेख छ ।

एमालेले संसदको बैठक अवरुद्ध पारेर ठूलो गल्ती गरेको भन्दै त्यो संसदीय अभ्यासको अपमान भएको समेत बैठकले ठहर गरेको छ ।
‘कुनै पनि प्रस्तावलाई संसदमा प्रस्तुत हुन नदिनु लोकतन्त्र र संसदीय अभ्यासको अपमान गर्नु हो’, विज्ञप्तिमा भनिएको छ, ‘यस्ता अलोकतान्त्रिक र निन्दनिय कार्यलाई तत्काल रोकिनुपर्छ ।’

एमालेले संशोधन प्रस्ताव राष्ट्रघाती भएको भन्दै देशव्यापी रुपमा आन्दोलन चलाउने निर्णय गरेकै बेला मोर्चाले राष्ट्रिय एकताालाई खलल पार्ने खालका कुनै पनि गतिविधि नगर्न समेत एमालेको ध्यानाकर्षण गराएको छ ।

‘एमालेले अहिले देशमा संशोधन प्रस्तावलाई राष्ट्रघाती भन्दै गरेको आन्दोलन अतिवादी, विखण्डनकारी र उग्रवादी भएको मोर्चाको ठहर छ ।’ बैठकपछि जारी विज्ञप्तिमा उल्लेख छ ।