चितवन, २५ मंसिर । अब नेकपा एमालेको सदस्य बन्नका लागि लिखित परीक्षा दिनुपर्ने भएको छ । एमालेकी उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले पार्टीले नयाँ सदस्यताका लागि परीक्षा लिने व्यवस्था सुरु गर्ने बताएकी छन् ।

023c563c9d1e4f66d780530319d3d810नेकपा एमाले चितवनले आज भरतपुरस्थित पार्टी कार्यालयमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले यसको थालनी पहिलो पटक चितवनबाट गर्न लागिएको पनि जानकारी दिइन् ।

चितवनमा आइतबार एमाले पार्टी सदस्यताका लागि परीक्षा लिने भएको छ । कम्युनिष्ट पार्टीको न्यूनतम विचारधारा र सिद्धान्त बुझेका मान्छे पार्टीमा आवश्यक भएकाले परीक्षाको थालनी गरेको बताउँदै उनले यसलाई देशैभरी अभियानका रुपमा लैजाने बताइन् ।

सो अबसरमा एमाले चितवनका अध्यक्ष तथा सांसद कृष्णभक्त पोखरेलले एमालेको विधानअनुसार सदस्यताका लागि परीक्षा लिन लागेको चितवन जिल्ला पहिलो भएको दाबी गरे ।

परीक्षाका लागि एक हजार ४ सयभन्दा बढीले नाम दर्ता गराएको पनि उनले जानकारी गराए । लिखित रुपमै वस्तुगत प्रश्नपत्र बनाइएको एमाले चितवनले जनाएको छ ।