रोल्पा, २५ मंसिर । कुनै वेला रोल्पाकी मन्मा रानाले हातमुखको जोहो गर्नको लागि ईटाभट्टाको जोखिम पनि मोलिन । तर जौलिपोखरी–६ निवासी १७ वर्षीया मन्मालाई आजभोली आफ्नै गाउँमा सिलाई कटाईको कामले व्यस्त छिन् । अझ चाडबाडको बेलामा त उनलाई खाना खाने फुर्सदसमेत हुँदैन ।
दुई वर्षअघि भक्तपुरको ईटाभट्टाबाट उद्धार गरिँदा मन्मा १५ वर्षकी थिइन् । कक्षा ६ मा पढ्दा पढ्दै आर्थिक अभावका कारण उनी गाउँकै साथीसँग ईटाभट्टामा काम गर्न पुगिन् । १२ वर्षदेखि १५ वर्षसम्म ईटाभट्टामा काम गर्न जाने आउने गरिन् ।
दुई वर्षअघि सेभ द चिल्ड्रेन र मानवअधिकार सचेतन केन्द्र ९हुरेक० रोल्पाद्वारा सञ्चालित एकीकृत परियोजनाले सञ्चालन गरेको तीन महिने सिलाई कटाई तालिम लिएकी मन्माले अहिले आफ्नै गाउँमा सिलाई व्यवसायबाट राम्रो आम्दानी गर्दै आएकी छिन् ।
एकीकृत परियोजनाद्वारा गाविसमा गठित ‘गाउँ बाल संरक्षण समिति’को पहलमा उद्धार गरिएकी मन्माले गएको वर्ष सञ्चालित सिटिइभिटीको लेभल १ को दुई महिने सिलाई कटाई तालिमका साथै एकीकृत परियोजनाद्वारा सञ्चालित गाउँकै सहकारीबाट ३० हजार रुपैयाँ ऋण लिएर सिलाई मेसिन ल्याई व्यवसाय सञ्चालन गगरेकी छिन् ।
अहिले उनीसँग एउटा अनुदानमा पाएको मेसिन र ऋणबाट ल्याएको मेसिन छ । अहिले मन्माले गाउँभरका महिला दिदीबहिनीको कपडा सिलाउने र उनीहरुलाई सिलाई कटाईको सीप समेत सिकाउछिन् । उनले अहिलेसम्म ७ जनालाई तालिम दिइसकेकी छिन् ।
मन्माले अहिले सहकारीबाट लिएको ऋण तिरेर पनि मासिक ७ देश १० हजार रुपैयाँसम्म आम्दानी गर्दै आएकी छिन् । सिटिइभिटीको लेभल २ को तालिम सिकेर व्यवसायलाई थप फस्टाउने उनको सोच छ ।
एकीकृत परियोजनाले मन्मा जस्तै जिल्लाका ७ वटा गाविसका ईटाभट्टामा जाने जोखिममा रहेका बालबालिकालाई वैकल्पिक शिक्षामार्फत विद्यालय भर्ना गर्ने तथा आयआर्जनमा लाग्न चाहनेका लागि तालिम सञ्चालन गर्दै आएको छ । मन्माको यो सफलता जीवनमा केही गर्न सकिएन भन्नेहरुका लागि प्रेरणा बन्न सक्छ ।