रुकुम, २३ मंसिर । रुकुम सदरमुकाम मुसीकोटदेखि चुनबाङसम्म सडक निर्माणकार्य थालिएको १६ वर्ष पुग्यो । तर, अझै योजना पूरा भएको छैन । हालसम्म झण्डै १२ किलोमिटर मात्र सडकको ट्र्याक निर्माण भएको छ । सरकारले सडकमा पर्याप्त बजेट नछुट्याउँदा सडक निर्माणकार्य प्रभावित बनेको हो ।

pahiroतीन वर्षमा सम्पन्न गर्नेगरी शुरू गरिएको योजना बीचमै अलपत्र परेपछि स्थानीयलाई सदरमुकाम आवतजावत गर्न तथा सामान ढुवानीमा समस्या भएको छ । २०५८ सालमा शुरू गरिएको योजनामा १२ किमी मात्र सडकको ट्र्याक खोलिएको छ ।

जिल्ला विकास समितिका अनुसार जिल्लामा सबैभन्दा पहिले निर्माणकार्य थालिएको सडक अझैसम्म पूरा हुनसकेको छैन । सडक निर्माण समितिका सचिव राजन पुनका अनुसार जिल्ला विकास समितिले सडक निर्माणका लागि पटक–पटक अनुरोध गर्दा पनि बजेट नदिँदा योजना अलपत्र परेको छ ।

‘सरकारी बेवास्ताका कारण सडक ठाउँ–ठाउँमा भत्किँदै गएको छ,’ उनले भने, ‘समिति र टेण्डरमार्फत सडक निर्माण हुने भनेर प्रमुख प्राथमिकतामा राखिए पनि बजेट अभावमा ३ वर्षयता सडकमा बजेट छुट्याइएको छैन ।’

यता जिल्ला प्राविधिक कार्यालयले भने सडकको विस्तृत सर्भे भइसकेको बताएको छ । सदरमुकामदेखि चुनबाङसम्म ३५ किमी दूरी रहेको ईञ्जिनीयर पहल पुनले बताए ।