दाङ । महका लागि प्रख्यात मानिने दाङमा पछिल्लो समयमा मह उत्पादन घट्दै गएको छ । जिल्ला कृषि विकास कार्यालयका बाली संरक्षण अधिकृत पिताम्बर बस्नेतका अनुसार, जिल्लामा आव २०७१/७२ मा सातहजार ६ सय ५२ माहुरीको गोलाबाट २ सय ३४ मेट्रिक टन मह उत्पादन भएको थियो ।

dscn0585त्यसैगरी गत आव २०७२/७३ मा ११ हजार १ सय ५२ गोलाबाट ८९ दशमलव २१ मेट्रिक टन मह उत्पादन भएको थियो । चालु आव २०७३/७४ को कात्तिक मसान्तसम्ममा १२ हजार ७ सय १० गोलाबाट ६६ दशमलव ४६ मेट्रिक टन मह मात्र उत्पादन भएको बस्नेतले बताए ।

जिल्लामा उन्नत जातका माहुरीका १० हजार ५ सय ३२ ओटा आधुनिक घार र २ हजार १ सय ७८ स्थानीय जातका माहुरीका घार रहेका छन् । कृषि विकास कार्यालयका अनुसार, यस वर्ष उन्नत जातको माहुरीको प्रतिगोलाबाट ६ किलो मह उत्पादन भएको छ भने स्थानीय माहुरीको प्रतिघारबाट १ दशमलव ५ किलो मह उत्पादन भएको छ ।

जिल्लामा चरन क्षेत्रको अभाव र आधुनिक औजारहरु उपलब्ध नहुँदा मह उत्पादनमा कमी आएको कृषि विकास कार्यालयले बताएको छ । पछिल्लो समयमा तोरी खेती हुने क्षेत्र घट्दै जानु, तोरी ढिलो फुल्नु र चिउरीको फूलमा पुष्प कम भएका कारण मह उत्पादनमा कमी आएको बाली संरक्षण अधिकृत बस्नेतले बताउँछन् । जिल्लामा १८ हजार हेक्टरमा तोरी खेती हुने गरेको कार्यालयको तथ्याङ्क छ ।

माहुरीको वंश पुरानो हुँदै गएकोले पनि मह उत्पादन घटेको हुन सक्ने उनी बताउँछन् । माहुरी चराउनका लागि बाहिरी जिल्लाबाट समेत वर्षेनि दाङमा माहुरी ल्याउने गरिएको छ । जिल्लाका रामपुर, लक्ष्मीपुर, घोराही नगरपालिकाको माथिल्लो भाग, हापुर, धर्ना गाविस चरनका लागि उपयुक्त क्षेत्र मानिन्छन् । जिल्लामा उत्पादन भएको महमध्ये ८० प्रतिशत बाहिर जाने गरेको छ ।