काठमाडौं, २१ मंसिर । राप्रपाका अध्यक्ष कमल थापाले राष्ट्रिय एकता र मुलुकको अखण्डताका लागि दलहरुका नेतृत्व एकताबद्ध हुन नसके देश नियन्त्रणबाट बाहिर जाने आशङ्का व्यक्त गरेका छन् ।

kamal-thapaरिपोर्टर्स क्लब नेपालमा भएको कार्यक्रममा थापाले संविधान जारी भएको झण्डै १५ महिना भए पनि कार्यान्वयनमा समस्या देखिएकाले सबै दल जिम्मेवार भई समस्या समाधानका लागि अगाडि बढ्नुपर्ने सुझाव दिए ।

यथास्थितिमा विधेयक स्वीकार्न नसकिने बताउँदै उनले भने, ‘विधेयकमा समावेश गरिएका अधिकांश विषयवस्तु तथा दफा राष्ट्रको हितमा छैनन् ।’ थापाले विधेयकप्रति मधेसी मोर्चा असन्तुष्ट तथा प्रमुख प्रतिपक्षसहित केही दलका साथै प्रदेश नं ५ का जनता आन्दोलनमा रहेकाले सरकारले विकल्प खोज्नुपर्नेमा जोड दिए ।

अध्यक्ष थापाले निर्धारित समयभित्र तीन चरणको चुनाव गराउनुपर्ने संवैधानिक बाध्यता रहेको तर मधेसी मोर्चाको सहभागिताबिना चुनाव गर्न कठिन रहेको स्पष्ट गरे ।