जाजरकोट, १९ मंसिर । जाजरकोटको दुर्गम गाउँमा एक महिला कठांग्रिँदो जाडोमा पनि चिसो ढुंगामै जीवन बिताउन बाध्य छिन् । शारीरिक रूपमा अशक्त ढिमे–६ सिमल गाउँकी ३६ वर्षीया भगवती शाहीले ३ वर्षदेखि खुला आकाशमुनि ढुंगामा रात बिताउदै आएकी हुन् ।
११ वर्षको उमेरदेखि कम्मरदेखि शरिरको तल्लो भाग नचल्ने भएकी भगवती ३ वर्षदेखि ढुंगामा दिन बिताउँदै आएकी छिन् । परिवारका सदस्यले घरबाट बाहिरभित्र गर्ने क्रममा लगाउने वचन सहन नसकेर उनी ढुंगामा बस्न बाध्य भएकी हुन् । ‘बाहिर–भित्र गराउने क्रममा काल पनि आउँदैन भन्ने वचन सहन नसकी ढुंगामा बस्न थालेकी हुँ,’ आँखाभरी आँसु पार्दै भगवतीले भनिन् ।
६ वर्षको उमेरमा सामान्य खुट्टा दुख्ने बिरामी भएकी उनी विस्तारै शरीरको तल्लो भाग सुकेर नचल्ने अवस्थामा पुगेकी हुन् । बिरामी परेको सुरुसुरुमा परिवारका सबै सदस्यले माया गरे पनि विस्तारै हेला हुन थालेको उनले बताइन् ।
अविवाहित भगवतीका लागि अहिले जीवनको सहारा कोही छैन । जेठो सन्तानको रुपमा रहेकी भगवतीको लागि धामीझाँक्री गरेर विभिन्न स्थानमा २५ वटा बोका, तीनवटा भेडा र ३५ वटा कुखुराको बली दिएको तर पनि सञ्चो नभएको बाबु वीरबहादुर शाहीले जानकारी दिए ।
‘आमा हुँदासम्म समस्या भएन, ६ वर्षपहिले आमाको मृत्यु भयो, मलाई पनि घरमा मन लाग्दैन, भाइबुहारीले यसको चित्त दुखाएकाले घरबाहिर यस्तो कष्टसित बस्न थालेकी छ, कसैले भित्र बस भन्दा पनि मान्दिनँ,’ उनले भने ।
पाँच भाइ र तीन बहिनीमध्ये जेठी दिदी भगवतीलाई अहिले घरनजिकै ढुंगामा खाना दिने गरिएको छ । उनालाई कान्छी बहिनी मिरा शाहीले घरभित्रबाट खाना लिएर खुवाउने, लुगा ओडाउने र दिसापिसाब सफा गर्दै आएकी छिन् ।