चन्द्रा जलन / तुलसिपुर १८ मंसिर । कुनै समय चुलो चौको मै सिमित हुने महिलाहरु पछिल्लो समय अन्य पेशा ब्यबसाय तर्फ पनि आबद्ध हुँदै गएका छन् । पछिल्लो समय महिलाहरुले पनि बिभिन्न सिप सिकेर ब्यबसायीक हुँदै गएका छन् । महिलाहरुले पनि सीप सिकेर आफ्नो खुट्टामा आफै उभिन सक्छन् भन्ने प्रसस्तै उदाहरण खडा गरेका छन् ।
महिलाहरु पछिल्लो समय सिलाई कटाईमा बढि आकृषित हुँदै गएका छन् । सामान्य लेखपढ गर्न सक्नेले पनि सिलाई कटाई पेशा अंगाल्न सक्ने तथा थोरै लगानीमा व्यबसाय सञ्चालन गर्न सकिने भएपछि उक्त पेशा प्रति महिलाहरुको आर्कषण बढ्दै गएको हो ।
साथै सिलाई कटाई पसलको काम सकेर पनि घरको काम गर्न सकिने भएपछि उक्त पेशा झनै सहज बन्दै गएको छ । पछिल्लो समय सामान्य लेखपढ गर्न सक्ने मात्र नभई आईए पढेकाले पनि आयआर्जनका लागि सिलाई कटाई पेशा अंगाल्दै आएका छन् ।
आई.ए सम्मको पढाई पुरा गरेर विगत १० वर्ष देखि कटाई सिलाइ पेशा गर्दै आएकी विष्णु सिंह र रमा सिंह तुलसिपुर ६ वरुवागाँउमा कटाई कटाई गर्छिन् । आम्दानी पनि राम्रो हुने र लगानी पनि थोरै लाग्ने र काम गर्न पनि सहज हुने भएकाले उक्त पेशा अंगालेको उनीहरुको भनाई छ । पसल सञ्चालन गरेकी बिष्णु सिंह भन्छिन्‘ महिलाहरु चुलो चौको मै सिमित हुन पर्छ भन्ने होईन्, महिलाहरुले पनि सीप सिकेर मनग्य आम्दानी गर्न सकिन्छ ।’ उनले थपिन ‘ महिलाहरु चुलो चौकोमा मात्रै सिमित हुने हो भने पुरुषबाट हेपिनु पर्छ, त्यसैले पनि सीप सिकेर काम गर्ने हो भने महिला पनि आफ्नै खुट्टामा उभिन सक्छन् । ’
महिलाहरु पछिल्लो समय पैसा कमाउने नाममा बिदेश जाने लहर बढिरहेको छ, तर नेपालमै पनि मनग्य आम्दानी गर्न सकिन्छ सिलाई कटाई पेशा गर्दै आएकी अर्की ब्यबसायी रमा सिंह बताउछिन् ।
नाता ले विष्णु जेठानी हुन् भने रमा देवरानी हुन् । जागिर खोजीमा भौतारिरहेका, तथा नेपालमा रोजगारी नपाई बिदेश पसेकाहरुका लागि उनीहरु एउटा उदाहरणी पात्र बनेकी छिन् । बिष्णु भन्छिन्‘ पहिले घर खर्च चलाउन श्रीमानको भर पर्नु पर्दथ्यो तर अहिले म घर खर्चका लागि श्रीमानसंग गुहार्नु पर्दैन्, आफैले गरेको आम्दानीबाट सबै खर्च टार्ने गरेकी छु ।’
उनी जस्तै धेरै महिलाहरु आफै केही गरेर घर खर्च टार्न सक्छौँ भन्ने आत्म बिश्वास जगाईसकेका छन् । अर्को तर्फ घरको चुलो चौकोमा मात्रै सिमित हुने पुरानो मान्यतालाई त्याग्दै नयाँ अबशरको खोजी गर्न थालेका छन् ।
आफुहरुले अहिले दैनिक दुई हजार भन्दा बढि आम्दानी गर्दै आएको उनी बताउछिन् । समय परिर्वतन संगै नेपालमा पनि छोरीले छोरा सरह पढनु पर्छ भन्ने भावनाको बिकास भईसकेको छ तर पढेपछि जागिर नै खानु पर्छ भन्ने छैन् । पढेर अन्य सीप सिकेर आत्मनिर्भर बन्न सकिन्छ ।