काठमाडौं, १६ मंसिर । संविधान संसोधन विधेयकमा विमति राख्दै आएको मधेसी मोर्चाले दर्ता भएको संसोधन प्रस्तावमा मधेसका मागहरु पूर्ण रुपमा सम्बोधन नभएको भन्दै आफ्ना माग सम्बोधनसहित परिमार्जन भए मात्रै समर्थन जनाउने बताएको छ ।
संविधान संशोधन तथा स्थानीय निर्वाचनलगायतबारे सहमति खोज्न आज प्रधानमन्त्री निवास बालुवाटारमा वसेको सत्तासाझेदार प्रमुख दल र संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाबीच बैठकमा मधेसवादी नेताहरुले यस्तो धारणा राखेका हुन् । बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विधेयकलाई समर्थन गर्न आग्रह गरेका थिए ।
विहानै वसेको बैठकमा प्रधानमन्त्रीले विधेयकमा समर्थन जनाउन मधेसी नेताहरुलाई पटक पटक आग्रह गरे पनि आफूहरुका माग पूरा गर्ने गरी संसोधन विधेयक परिमार्जन नहुँदासम्म स्वीकार्न नसकिने अड्डिकसेका थिए ।
हामीले तापाईंहरुकै माग सम्बोधन गर्न यो प्रस्ताव ल्याएका हौं, प्रधानमन्त्रीलाई उद्धृत गर्दै मधेस समाजवादी पार्टीका महासचिव केशव झाले भने, सबै माग एकैपटक पुरा हुनसक्दैनन् । ल्याएको प्रस्तावलाई त समर्थन गर्नुहोस् । झाका अनुसार मधेसी मोर्चाका नेताहरुले भने सरकारले विधेयकमा परिमार्जन गर्ने मनस्थिति बनाए मात्रै संशोधन प्रस्तावको समर्थन गर्ने जवाफ दिएका छन् ।











