ओमप्रकाश गुप्ता / सिसहनियाँ १५ मंसिर । देउखुरीको सिसहनियाँ ४ पिपरीका गणेश चौधरीलाई गाविसमा कति रकम आउछ , त्यो रकम कुन कुन शिर्षकमा खर्च हुन्छ, भन्ने कुरा नै थाहा छैन । ‘हामी त काम गरेर खाने मान्छे गाउँका ठुलावडाहरुले बजेट माग गर्छन् तर त्यो बजेट कहाँ खर्च गर्छन थाहा छैन्, सिसहनियाँ गाविसका ९ ओटै वडाहरुमा सञ्चालन गरिएको वस्ति स्तरको योजना छनौट विषयक अभिमुखीकरण कार्यक्रममा सहभागी भएका चौधरीले यस्तो कुरा ब्यक्त गरेका थिए ।
सोही ठाउँ निबासी विमला नेपालीले पनि महिलाको क्षेत्रमा कति बजेट आउँछ, त्यो रकम कसले खर्च गर्छ , केही थाहा पाउँदिनन् । उनी भन्छिन् ‘ कुन कार्यक्रमका लागि बजेट आउछ, कसरी बजेट माग्ने भन्ने केही कुरा थाहा छैन् । हामी जस्ता गरिव र पछाडि परेका महिलाका लागि पनि बजेट आउछ र ?’
विमलाले थपिन‘ गाविसमा महिला सञ्जाल छ भनेको सुनेको छु तर अहिले सम्म म जस्ता पछाडि परेका महिलाहरुले कुनै पनि आय आर्जन मुलक कार्यक्रममा सहभागी हुन पाएका छैनौ ।’
शारिरीक रुपले अशक्त अनिता भुसाललाई पनि अपाङका क्षेत्रमा कति रकम आउँछ, कुन कुन कार्यक्रममा खर्च हुन्छ भन्ने थाहा छैन । यी र यस्ता उदाहरणीय पात्रहरु समाजमा थुप्रै छन् । तर कुनै पनि जानकारी नपाउँदा सर्बसाधारणलाई अझै पनि योजना माग गर्ने तरिका , गाविस आउने बजेट र प्रक्रियाका बारेमा जानकारी गराउन सकिएको छैन ।
युएसएआइडिको आर्थिक सहयोगमा साझेदारी विकास परियोजना अन्तर्गत बेस संस्थाको आयोजना एवम् सिसहनियाँ गाविसको समन्वयमा कार्यक्रम भएको हो । गाविसमा साझेदारी विकास परियोजना लागु भए पछि पहिलो पटक गाविसको ९ ओटै वडाका नागरिकहरुलाई बस्ति स्तरको योजना छनौट प्रक्रियाका बारेमा जानकारी दिन पुगे पछि मात्र सर्वसाधारण नागरिकहरुलाई आफनो गाउँ सँगै महिला, बालबालिका र लक्षित वर्गको बजेट कति कति प्रतिशत प्राप्त हुन्छ भन्ने कुरा थाहा पाएको सहभागीहरुले बताए ।
कार्यक्रममा योजना छनौटका १४ चरण, गाविसमा आउने बजेटका प्रकार र रकम, उपभोक्ता समिति गठन प्रक्रियाका मापदण्ड र योजना फारम भर्ने तरिकाका बारेमा सिकाइएको थियो । सो कार्यक्रम गाविसको वडा नं. १ को बड्का सिसहनियाँ, वडा नं. २ को छुट्की सिसहनियाँमा, वडा नं. ३ को भानपुरमा, वडा नं. ४ को पिपरीमा, वडा नं. ५ को गाविस कार्यालयमा, वडा नं. ६ को विजौरीमा, वडा नं. ७ को लठ्ठहवामा , वडा नं. ८ को पत्थरगढवामा र ९ को ज्ञानेदय माविमा भएको थियो । अभिमुखीकरण कार्यक्रमको सहजीकरण सुशासनका सामाजिक परिचालक सिर्जना शर्मा, सामाजिक परिचालक विष्णुमाया चौधरी र इक्वल एक्सेसका सामुदायिक सञ्चारकर्मी ओमप्रकाश गुप्ताले गरेका थिए ।
