वुटवल, १५ मंसिर । ५ नम्बर प्रदेश टुक्र्याउने गरी संसद सचिवालयमा दर्ता भएको संविधान संशोधन प्रस्तावको बिरोधमा पाल्पा, गुल्मी, अर्घाखाँची, कपिलवस्तु, नवलपरासी लगायतका जिल्लामा आज बिहानैदेखि विरोध प्रदर्शन भएको छ।
बुटवलमा अनेरास्ववियु लगायत विद्यार्थी र सर्वसाधारणले बिहानैदेखि सडकमा नाराजुलुस सहित टायर बालेर प्रदर्शन गरेका छन् । प्रदर्शनमा सत्तारुढ दलकै स्थानीय नेता कार्यकर्ताको पनि उपस्थिति छ ।
प्रदर्शनका कारण पूर्व–पश्चिम तथा उत्तरदक्षिण सिद्धार्थ राजमार्गमा चल्ने सवारी ठप्प छन् । स्वतस्फूर्त सडकमा उत्रिएका युवाले प्रदर्शनमा पाँच नम्बर प्रदेश टुक्र्याउन पाइँदैन, संविधान संशोधन चाहिँदैन , हिमाल–पहाड–तराई कोही छैन पराइ लगायतका नारा लगाएका छन् ।
प्रदर्शनकारीले ५ नम्बर प्रदेशका पहाडी जिल्ला पाल्पा, अर्घाखाँची, गुल्मी, रोल्पा, प्युठान र ६ नम्बर प्रदेशका रुकुम, दैलेख, सल्यानलाई जोडेर आठौं प्रदेश बनाउने प्रताव अविलम्ब फिर्ता नहुँदासम्म आन्दोलन जारी राख्ने बताएका छन् ।
