वर्दिया, १५ मंसिर । बर्दियाको भुरिगाउँदेखि गुलरिया हुँदै मूर्तियासम्मको हुलाकी सडक निर्माण कार्य शुरु हुने भएको छ । सडक निर्माणका लागि दुई ओटा ठेकेदार कम्पनीले जिम्मा पाएपछि सडक निर्माणको काम शुरु हुने भएको हो ।
सडक निर्माणका लागि आह्वान गरिएको टेण्डरमा भुरिगाउँ—गुलरिया हुलाकी सडकका लागि दुवै तर्फबाट सडक निर्माण कार्य शुरु हुने गरी ती दुई कम्पनीले निर्माणको जिम्मा पाएका छन् । लामो समयदेखि सडक निर्माण कार्य अवरुद्ध भएपछि यस क्षेत्रका बासिन्दा समस्यामा परेका थिए ।
गुलरिया–भुरिगाउँ हुलाकी सडकको टेण्डर प्रक्रिया सम्पन्न भइसकेकाले छिट्टै काम शुरु हुने हुलाकी सडक आयोजना प्रमुख तुरन्तप्रसाद मण्डलले बताए । मण्डलका अनुसार भुरिगाउँदेखि १८ किलोमिटरसम्मको सडक निर्माणका लागि भीमबहादुर साउदको एमके कन्सट्रक्सनले ठेक्का पाएको छ भने बाँकी गुलरिया हुँदै मूर्तियासम्मको १८ किलोमिटरका लागि हरिनारायण रौनियारको पप्पु कन्सट्रक्सनले ठेक्का पाएको छ ।
बर्दियाको भुरिगाउँ—गुलरिया हुँदै मूर्तियासम्मको साढे ३५ किलोमिटर सडकको लागत १ अर्ब १० करोड रूपैयाँ रहेको हुलाकी सडक आयोजनाले बताएको छ ।
